क्यालिफोर्नियामा बेपत्ता नेपाली निरजको शव समुन्द्री तटमा फेला

सहयोग संकलनका लागि ‘गो फन्ड’ अभियान सुरु

लोकपथ
252
Shares

क्यालिफोर्निया । नेपाली मुलका ४३ वर्षीय निरज श्रेष्ठको १४ दिनपछि शव फेला परेको छ । डिसेम्बर १५ देखि हराइरहेका उनको शव डिसेम्बर २९ मा क्यालिफोर्नियाको बे एरियाको पिट्सवर्ग मरिनास्थित उनकै घर नजिक समुन्द्री तटमा फेला परेको हो ।

हाल निरजको शव पिट्सवर्ग पुलिसले राखेको छ भने अन्तिम दाहसंस्कारका लागि स्थानीय डेल्टा एक्स अर्गनाइजेसनले व्यवस्थापन गरिरहेको छ ।

श्रेष्ठको १३ औँ दिनसम्म काजक्रिया गर्न लाग्ने सम्पूर्ण खर्च बे एरिया रिच्मण्डमा रहेको मुक्तिनाथ धाम मन्दिरले बेहोर्ने भएको छ । मुक्तिनाथ मन्दिरका संस्थापक अध्यक्ष अनिल पाण्डे, बोर्ड अफ टष्टी अध्यक्ष सूर्य शर्मा र कोषाध्यक्ष सञ्जीव भट्टको उपस्थितिमा डेल्टा एक्सका अध्यक्ष मुकुन्द दवाडीलाई तत्काल रकम उपलब्ध गराइएको छ । सो रकम निरजको घरमै गएर परिवार समक्ष हस्तान्तरणसमेत गरिसकिएको छ ।

निरजको परिवारसँग समन्वय गरी पार्थिव शरीरको अन्त्येष्टि र १३ दिनको कर्म गर्न सम्पूर्ण व्यस्वस्थापन डेल्टा एक्सका सुभाष शाही, दीपक अधिकारी र मनोहरा थापालेले स्थानीय पुलिससँग समन्वय गरिरहेका छन् ।

मुक्तिनाथ धाम मन्दिरले गरेको सहयोगले मृतकको आत्माले शान्ति पाउने र निजको परिवारलाई राहत मिल्ने आशासहित डेल्टा एक्स टिमले मुक्तिनाथ धाम मन्दिरप्रति आभार व्यक्त गरेको छ । साथै बे एरियामा रहेका अन्य संघ संस्थाहरूलाई समेत सहयोग गर्न अनुरोध गरेको छ ।

काठमाडौंको मैतीदेवीमा जन्मिएका निरज २०१७ मा आफ्नो परिवारको उज्ज्वल भविष्य निर्माण गर्न अमेरिका गएका थिए । उनी पिट्सबर्गस्थित पान्डा एक्सप्रेसमा शेफको रूपमा कार्यरत थिए ।

निरजका परिवारलाई सहयोग गर्न एनआरएनए क्यालिफोर्नियाले आर्थिक सहयोग संकलन अभियान ‘गो फन्ड’ सुरु गरेको छ । संकलित रकम अन्त्येष्टि खर्च, बेरोजगार श्रीमती र १९ महिनाकी छोरीलाई सहयोग गर्नका लागि उपलब्ध गराइने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?