काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित पूर्वमहामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग सुषुप्तरुपमा उठ्न थालेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धकीकरणबारे पार्टी सभापति रवि लामिछानेमाथि पोखरा जिल्ला अदालतमा थुनछेक बहस चलिरहेका बेला रास्वपाभित्र यो माग उठ्न थालेको हो ।
रास्वपाले संस्थापक महामन्त्री एवं प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत असारमा हटाएको थियो ।
रास्वपा कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेश प्रदेशका महामन्त्री तपेश्वर यादवले लिखितरुपमा नै यस्तो माग गरेका हुन् । उनीहरुले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएर यस्तो माग गरेका हुन् । सभापति लामिछानेमाथि अदालतमा मुद्धा दायर भएपछि अहिले कार्यवाहक सभापतिको भूमिकामा अर्याल छन् ।
उनीहरु दुबै जनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् । एकापसमा भिडेर भन्दा मिलेर पार्टी बनाउनुपर्ने आवश्यकता रहेकाले कारबाही फिर्ता पत्र पठाएको उनीहरुले उल्लेख गरेका छन् ।
पत्रमा तिम्सिनाले ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको उल्लेख गरेका छन् । ‘राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु । यसर्थ, पार्टीमा डा। मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ तिम्सिनाले पत्रमा लेखेका छन् ।
मधेशका महामन्त्री यादवले पनि रास्वपा हाल सबैभन्दा ठूलो संकटको घडीमा रहेको लेखेका छन् । ‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्योभन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ । कसैसँग रिस, राग, द्वेष र अनुराग नराखिकन एक आपसका सबै तुष सबै पक्षबाट त्यागौं र संकटको यो घडी फुटेर होइन जुटेर सामना गरौं,’ यादवले लेखेको पत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया