धेरै जातजाति, भाषाभाषीहरु नेपालको सम्पत्ति : अध्यक्ष राउत

लोकपथ
28
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरु हुनु कमजोरी नभएको बताएका छन् । बुधबार माइतीघर मण्डलामा राष्ट्रिय पोसाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गरे । उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए । उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नो आफ्नो पोसाक लगाइ पोसाक दिवस मनाउनुपर्ने बताए । उनले अरूलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए । 

उहाँले भने, ‘नेपाल विविधतापूर्ण देश हो । यहाँ अनेकौँ, जातजातिहरू, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरू छन् । हाम्रो लागि त्यो कमजोरी होइन । यो हाम्रो लागि सम्पत्ति हो । यो सबैलाई हामीले सम्मान गर्नुपर्छ । त्यही आशयले हामी आज राष्ट्रिय पोसाक दिवस मनाउँदै छौँ । नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्टा गरियो । लामै संघर्ष गर्‍यौँ । त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ । त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ । आज कुनै एकल जातजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन । सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो ।’

राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरू धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए । उनीहरूले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोसाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?