काठमाडौं । एमालेबाट निष्कासनमा परेका डा. भीमबहादुर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । पछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने उनको भनाइ छ ।
एमालेबाट निष्कासनमा परेपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले आफ्नो आगामी कदमबारे स्पष्ट धारणासमेत राखेका छन् । झन्डै साढे दुई घण्टा पत्रकार सम्मेलनमा बोलेका उनले मुलुकमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य भएकोमा समेत जोड दिएका छन् । उनले भने, ‘यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ ।’ उनले मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियानकारुपमा चलाइने बताउँदै त्यस क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरूक बनाइने पनि प्रस्ट पारेका छन् ।
‘देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ,’ उनले भनेका छन् । देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ । राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ,’ उनले भनेका छन् ।
‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ । राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ,’ उनले भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थरूपमा दृढताका साथ हिँड्नुपर्छ यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ। यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन् ।’
पत्रकार सम्मेलनमा अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओली र ओलीको चरित्रविरुद्ध खनिएका रावलले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएकोसमेत बताए । ‘यस्तो अवस्थामा राजनीतिक दल गम्भीर हुनुपथ्र्यो । तर केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ । एमाले रंग खुइलिएको बामाले भएको छ । यो भन्नुपर्दा मलाई दुःख लागेको छ । अन्य कतिपय दल पनि सोही बाटोमा छन् ।’
काठमाडौं महानगर प्रमुख बालेन शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ, धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमाल र दुर्गा प्रसाईंको नाम नै लिएका उनले आगामी दिनमा आफूलाई देशभक्तहरूको साथ रहने विश्वास पनि लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया