काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गरेका छन् । पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकारी दिन बुधबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीमा आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्ब भएको बताए ।
उनले राजनीति आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने भए पनि केपी ओलीले आफूसँग संवाद नै नगरी स्पष्टीकरण सोधेको कारण स्पष्टीकरण नदिएको बताए । उनले पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रस्टीकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट भएको बताए । उनले कथित स्पष्टीकरणको जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको गुनासो गरे ।
उनले भने, ‘मलाई पार्टी गतिविधिमा निषेधित गरिएका अनेकौँ घटनाक्रमहरूले सम्झायो । पार्टीमा मेरो लागि कुनै स्थान उल्लेख नहुनु केपी ओलीमा म प्रतिको द्वेष पूर्वाग्रह, निषेधात्मक गतिविधिको प्रतिविम्ब हो । मलाई विगतका कुरा कोट्याएर घाउ कोट्याए जस्तो गर्नु थिएन । कथित स्पष्टीकरणबारे केपी ओलीले नै स्पष्ट पार्नुपर्ने । कुनै पनि संस्थामा कार्यरत व्यक्तिलाई तत्काल गरिएको कुनै कामबाट संस्थाको विधान वा हित विपरीत काम भएको लागेमा वा देखिएमा व्यक्तिको पृष्ठभूमि वा पर्नसक्ने असरलाई ध्यानमा राखेर छलफल वा कुरा गरिन्छ । राजनीति र त झन् आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने हुँदा छलफल र संवादले प्राथमिकता पाउँछ । निर्देशनको आधारमा चल्नुपर्ने प्रशासनिक क्षेत्रमा समेत स्पष्टीकरण सोध्नुअघि छलफल गर्नुपर्ने परिपाटी छ । यस्तो परिपाटी विपरीत केपी अोलिबाट म जस्तो पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रस्टीकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट हुन्छ । अझ तीन वर्षदेखिका कुरा स्पष्टीकरणमा सोधिनु हास्यास्पद छ । अतः यस्तो कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने देखिन्छ ।’
नेकपा (एमाले) ले उनलाई पुस ११ गते पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया