नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्ला : वामदेव गौतम 

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ । 

बुधबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबीच भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गरे । उनले भने, ‘समझदारी विकास गर्नेबारेमा छलफल भयो । अब धेरै समय कुर्न नपर्ला पार्टी प्रवेशका लागि ।’

छलफलपछि बोल्दै एकता अभियानका संयोजक गौतम र पार्टीका पदाधिकारीबीच छलफल भएको र छलफल सकारात्मक रहेको बताए । उनले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताए । उनले एकताबद्ध भई अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको बताए । 

उनले भने, ‘एकता अभियानका संयोजक वामदेव गौतमसँग हाम्रो पार्टीका पदाधिकारीहरू बसेर छलफल गर्‍यौँ । छलफल धेरै विषयमा भयो, राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा छलफल भयो । एतावद्ध भएर अघि बढ्ने सन्दर्भमा छलफल भयो । वामदेव कमरेड र हाम्रो बीचमा छिटै एकताबद्ध भई सँगसँगै अघि बढ्ने एक खालको सैद्धान्तिक समझदारी भएको छ । एकता अभियानमा रहेका वामदेव कमरेडसँगै धेरै योगदान गर्नुभएका नेताहरूको व्यवस्थापनका कुराहरू भएको छ । हामी यी विषयहरू छिटै टुंग्याउँछौँ ।’

उनले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको बताए । भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । उनले भीम रावलसँगको छलफल पनि सकारात्मक रूपमा अघि बढिरहेको दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?