शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यकारी निर्देशक छन्, डाक्टर पुकारचन्द्र श्रेष्ठ । नेपालमै राम्रै आम्दानी गरिरहेको जनरल सर्जन हुँदाहुँदै डा. पुकारलाई मानव अङ्ग प्रत्यारोपणमा रुचि बढ्यो । कलिलै उमेरमा मिर्गौला, कलेजो आदिले काम नगरेर मृत्युवरण गर्न बाध्य युवायुवती देखेपछि उनलाई नेपालमै प्रत्यारोपणको सेवा दिएर त्यस्ता युवायुवतीको ज्यान बचाउन सकिन्छ भन्ने दृढ विश्वास बढ्यो । अनि बेलायत गएर ६ वर्ष मानव अङ्ग प्रत्यारोपणको तालिम लिए र नेपाल फर्किए ।
अहिले तिनै डा. पुकार मानव अङ्ग प्रत्यारोपणको अग्रणी संस्था शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (एचओटीसी)मा कार्यकारी निर्देशक छन् । उनकै कमान्डमा केन्द्रमा मानव अङ्ग प्रत्यारोपण भइरहेको छ र प्रत्येक दिन बिरामीले नयाँ जीवन पाइरहेका छन् ।
डा. पुकारको चिकित्सकीय यात्रा, जीवन भोगाई, सपना आदिका विषयमा हामीले कुराकानी गरेका छौँ । डा. पुकारसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
मानव अङ्ग प्रत्यारोपणको सपना र सुरुवात
डा. पुकार नेपालमै नाम चलेकै डाक्टर थिए । उनी आफ्नो पेसामा सफल नै थिए । उपचारकै क्रममा विभिन्न किसिमका बिरामीहरू उनी काम गर्ने अस्पताल र क्लिनिकमा आउने गर्दथे । उपचारकै क्रममा उनले साना उमेरमै युवायुवतीहरू मिर्गौला फेल भएर उपचारका लागि आउने र उपचार नपाएर मृत्यु हुने वा मृत्यु कुर्नुपर्ने बाध्यतामा रहेको देखे ।
त्यसपछि उनले किताबमा मात्रै पढेको मानव अङ्ग प्रत्यारोपण गर्ने गरी काम गर्न र युवायुवतीको अकालमै जाने ज्यान बचाउन मन लाग्यो । त्यसपछि उनले खोजी गरे, मानव अङ्ग प्रत्यारोपण गर्न सिकाउने अस्पताल ।
खोजीकै क्रममा बेलायतमा मानव अङ्ग प्रत्यारोपण गरिरहेको एक अस्पतालसँग डा. पुकारको कुराकानी भयो । अस्पताल डा. पुकारलाई तलबसहितको इन सर्भिस तालिम दिन तयार भयो । त्यसपछि नेपाल सरकारसँग अध्ययन बिदा लिएर सन् २००२ मा पुकार बेलायत पुगे ।
बेलायतमा ६ वर्ष तालिम गरिसकेपछि उनी आफ्नै कमान्डमा प्रत्यारोपण गर्न सक्छु भन्ने विश्वासमा पुगे । त्यसपछि उनी नेपाल फर्कन लागे । तालिम लिएको अस्पतालले बेलायतमै रोजगारी गर्न आग्रह गरे पनि पुकार स्वदेश फर्किए । त्यसपछि वीर अस्पतालमा हाजिर भएर प्रत्यारोपण सुरु गर्ने तयारी गरे ।
वीरमा अपरेसन थिएटरसम्म थिएन
वीर अस्पतालबाटै अङ्ग प्रत्यारोपणको थालनी गर्ने सोच गरेको भए पनि अस्पतालमा ट्रान्सप्लान्ट गर्नका लागि सुविधा सम्पन्न अपरेसन थिएटरसम्म थिएन । यद्यपि केही जनशक्ति लिएर न्युरो सर्जरीको अपरेसन थिएटरमा साताको एक दिन खाली भएको अवस्थामा मात्रै ट्रान्सप्लान्ट गर्ने गरी काम सुरु गरे ।
सन् २००८ बाट सुरु गरेको मिर्गौला प्रत्यारोपणको काममा ४ वर्षको अवधिमा ९९ जनामा मिर्गौला प्रत्यारोपण भयो भने ९९ प्रतिशत सफलता हात प-यो । त्यसपछि उत्साहित बनेको सरकार आफैँले अङ्ग प्रत्यारोपणका लागि छुट्टै अस्पताल बनाउने भन्दै भक्तपुर अस्पतालका लागि बनाइएको एउटा खाली भवन मानव अङ्ग प्रत्यारोपणका लागि भनेर छुट्टाइयो । त्यसपछि त्यहीँ मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थापना भयो ।
सन् २०१२ मै स्थापना भएको भए पनि त्यहाँबाट प्रत्यारोपणको काम सुरु हुन भने ४ वर्ष लाग्यो । सन् २०१६ मा केन्द्रबाट पहिलो ट्रान्सप्लान्ट हुँदा दक्षिण कोरियाबाट सर्जनहरू ल्याएर ट्रान्सप्लान्ट गराइएको थियो । त्यसपछि पनि लामो समय दक्षिण कोरिया तथा भारतबाट समेत सर्जन ल्याएर उनीहरूकै सहयोगमा मिर्गौला प्रत्यारोपण हुने गरेकामा गत एक वर्षदेखि भने आफ्नै जनशक्ति तयार पारेर डा. पुकारकै कमान्डमा प्रत्यारोपण सुरु भएको छ । केन्द्रले सन् २०२४ को अन्तिमसम्ममा १ हजार ३ सय ४२ जनामा अङ्ग प्रत्यारोपण गरिसकेको छ जसमा ३० जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ ।
कार्यकारी निर्देशकबाट हटाएर जगेडामा डा. पुकार
केन्द्रमा सफलतापूर्वक अङ्ग प्रत्यारोपणको काम चलिरहँदा एकाएक केन्द्रको कार्यकारी निर्देशकबाट पुकारको नाम हट्यो । उनलाई कार्यकारी निर्देशकबाट हटाएर ग्रान्डी अस्पतालका लगानीकर्ता प्रेमराज ज्ञवालीलाई कार्यकारी निर्देशक बनाएर ल्याइयो । पुकारलाई भने वीर अस्पतालमा हाजिर गर्ने गरी जगेडामा राखियो । २०७७ वैशाख महिनादेखि हटाइएका पुकार प्रत्येक दिन वीर अस्पतालमा पुगेर हाजिर गर्थे, तर उनलाई न जिम्मेवारी दिइएको थियो, न कुनै बस्ने कोठा नै । करिब डेढ वर्ष उनको दैनिकी त्यही थियो र एक ट्रान्सप्लान्ट सर्जन जगेडामा थिए ।
वीर अस्पतालको कार्यकारी निर्देशकको कोठामा गएर बस्ने, त्यहीँ हाजिरी गर्ने र घाम तापेर फर्कने गर्दथे, डा. पुकार । सरकारले घाम तापेर बस्ने बनाइदिएपछि उनकी पत्नीले पुनः बेलायत जान सुझाएको पनि थिइन् । नेपालमा काम गर्ने वातावरण नै नभएको, राजनीतिक खिचातानीको सिकार हुनुपरेको काम गर्दागर्दै कामबाट निकालिएको थियो ।
अनि ट्रान्सप्लान्ट गराउने निजी अस्पतालमा सेयर रहेका व्यक्तिलाई स्वार्थको व्यापार हुँदाहुँदै पनि कार्यकारी निर्देशक बनाइएको थियो । त्यति बेला नै वार्षिक १ सय ५० जनाको हाराहारीमा भइरहेको प्रत्यारोपण केन्द्रमा नयाँ व्यक्तिको आगमनपछि वार्षिक औसत ५० जनामा झरेको थियो र सफलताको प्रतिशतमा पनि कमी आएको थियो ।
केन्द्रको काम शून्य भएपछि पुन पुकारको आगमन
कामविहीन बनाएर जगेडामा राख्दा पनि डा. पुकारले धैर्यता गुमाएनन् । आफ्नो समय कुरेर बसे । करिब डेढ वर्षको अवधिमा केन्द्रमा करिब ७० वटा मात्रै ट्रान्सप्लान्ट हुनु र सफलतामा पनि कमी आएपछि सरकारले केन्द्रका कार्यकारी निर्देशक प्रेमराज ज्ञवालीलाई हटाएर पुनः पुकारलाई कार्यकारी निर्देशक बनाएर ल्यायो । २०७८ असोज महिनाबाट काम सुरु गरेका पुकारले ट्रान्सप्लान्टलाई तीव्रता दिए र अहिले मिर्गौलासहित कलेजोको सफल प्रत्यारोपण गराइरहेका छन् । अहिले वार्षिक औसतमा २ सयभन्दा बढी अङ्ग प्रत्यारोपण डा. पुकारको टिमले गराइरहेको छ ।
नेपालमा मिर्गौला रोग र बिरामीको अवस्था
नेपालमा कति मानिसमा मिर्गौलासम्बन्धी समस्या छ भन्ने यकिन तथ्याङ्क सरकारसँग पनि छैन । यद्यपि नेपालका कुल जनसङ्ख्याको १० प्रतिशत मानिस अर्थात् करिब ३० लाख जनसङ्ख्यामा कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या रहेको डा. पुकारको दाबी छ ।
३० लाख मिर्गौलाका बिरामीमध्ये वार्षिक ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ भने वार्षिक २ हजार जनामा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । तर पूर्वाधार, जनशक्ति, कानुनी व्यवस्था आदि कारणले वार्षिक करिब ३ सयको मात्रै मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।
वार्षिक ३ सय जनामा मिर्गौला प्रत्यारोपण हुँदा त्यसको झन्डै ७० प्रतिशत अर्थात् औसतमा करिब २ सय १० जनाको मिर्गौला प्रत्यारोपण केन्द्रमै हुने गरेको छ ।
आवश्यक सङ्ख्यामा मिर्गौला प्रत्यारोपण हुन नसक्नुको कारण भौतिक पूर्वाधार, जनशक्तिको अभाव आदि मात्रै होइन, कुनै बिरामीको शरीरमा इन्फेक्सन भएर, कसैको शरीरले अप्रेसन धान्न नसकेर तथा कतिपयले दाता नपाएर पनि ट्रान्सप्लान्ट गर्न पाएका छैनन् । जसका कारण नेपालमा अधिकांश मिर्गौलाका बिरामीहरू डायालोसिसमा बस्न बाध्य छन् ।
लैंगिक भेदभाव
मानव अङ्ग प्रत्यारोपणमा चरम लैंगिक भेदभाव अहिले पनि जारी नै रहेको डा. पुकारले बताए । पहिले अत्यधिक धेरै रहेको लैंगिक भेदभाव अहिले कम भए पनि समानता भने अझै आइसकेको छैन । अहिले पनि अङ्ग दान र अङ्ग प्रत्यारोपणमा पुरुष हाबी भएको पाइन्छ ।
डा. पुकारका अनुसार पहिले ९० प्रतिशत अङ्गदाता महिला हुन्थे । अहिले त्यो घटेर ७२ प्रतिशतमा पुगेको छ । अर्थात् प्रत्येक १ सय जनामा अङ्ग प्रत्यारोपण हुँदा पहिले ९० जना महिलाले अङ्ग दिने गरेका थिए ।
अङ्ग प्राप्त गर्नेहरूमा पनि पुरुषकै बाहुल्यता थियो । अहिले भने त्यो ट्रेन्डमा बिस्तारै परिवर्तन आउन थालेको छ । पहिले शून्य प्रतिशत रहेका महिला ग्रहणकर्ताको प्रतिशत बढेर अहिले १० प्रतिशत पुगेको छ । यसबाट बिस्तारै सुधार भएको देखिएको भए तापनि समानता भने अझै पनि आइसकेको छैन ।
ट्रान्सप्लान्ट खर्च : भारतमा ५० लाख, नेपालमा ७ लाख मात्रै !
कुनै समय थियो, नेपालमा अङ्ग प्रत्यारोपणको सम्भावना थिएन । यदि कोही कसैको मानव अङ्ग प्रत्यारोपण गर्नु परेमा भारत वा अन्य देशमा जानुपर्ने अवस्था थियो । ती देशहरूमा मानव अङ्ग प्रत्यारोपण गर्दा ४० देखि ५० लाख नेपाली रुपैयाँ खर्च हुन्थ्यो । त्यति धेरै रकम खर्च गर्दा पनि सफलता दर त्यति धेरै थिएन । तर पनि नेपालीहरू बाध्य भएर भारतमा गई मिर्गौला प्रत्यारोपण गराउँथे ।
अहिले समय फेरिएको छ । अब नेपालमै अङ्ग प्रत्यारोपण गराउँदा नेपाली नागरिकले अधिकतम २ लाख रुपैयाँ मात्रै तिरे पुग्छ ।
मिर्गौला प्रत्यारोपणका लागि नेपालमा करिब ७ लाख रुपैयाँ खर्च हुन्छ । उक्त रकममध्ये ५ लाख ५० हजार रुपैयाँ नेपाल सरकारले शोधभर्ना दिने गरेको छ । बाँकी करिब २ लाख रुपैयाँ भने व्यक्ति आफैले खर्च गर्नुपर्ने हुन्छ ।
हुन त राज्यको नीति अङ्ग प्रत्यारोपण गर्दा निःशुल्क गराउने भन्ने नै हो । सन् २०१२ मा नीति बनाउँदा सबै राज्यले बेहोर्ने र प्रतिव्यक्ति ५ लाख रुपैयाँ शोधभर्ना दिने भनिएको थियो । त्यति बेला डलरको भाउ प्रति एक डलर करिब ८० रुपैयाँ मात्रै थियो ।
तर अहिले डलरको भाउ बढेर १३५ रुपैयाँ पुगेको छ । डलरको भाउ बढेसँगै विदेशबाट किन्नुपर्ने औषधी र मेडिकल उपकरणको भाउ बढ्दा खर्च बढेको हो । खर्च बढे पनि सरकारले पूरै शोधभर्ना नदिँदा केही रकम भने व्यक्ति आफैँले तिर्नुपर्ने भएको हो ।
३० जनामा सफल कलेजो प्रत्यारोपण
चिकित्सा विज्ञानमा कलेजोको प्रत्यारोपणलाई जटिल शल्यक्रिया मानिन्छ । कलेजो प्रत्यारोपणका लागि करिब १५ घण्टा समय लाग्ने र धेरै जनाको समूह सामेल हुनुपर्ने हुन्छ । तर पनि केन्द्रमा हालसम्म ३० जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।
बन्द भएको इँटा टायल कारखानाको जग्गा प्राप्त भएमा आफ्नै भवन बनाई ट्रान्सप्लान्टलाई तीव्रता दिने सपना भए पनि सरकारले उक्त जग्गा दिन मानेन ।…
कलेजोको सुन्दरता भनेकै यो चाँडै पलाउने वा निको हुने घाउ हो । एक स्वस्थ व्यक्तिको ६० प्रतिशतसम्म कलेजो काटेर अर्को बिरामी व्यक्तिमा प्रत्यारोपण गर्दा कलेजो लिने र कलेजो दिने दुवै व्यक्तिमा तीन महिनाभित्र ९० प्रतिशत कलेजो बढिसकेको हुन्छ । २ वर्षमा कलेजो पूर्णरुपमा तयार हुन्छ र पूर्ण क्षमतामा काम गर्न सक्छ ।
यद्यपि कलेजोको प्रत्यारोपण एक जटिल र खर्चिलो प्रत्यारोपण हो । हाल नेपालमा कलेजो प्रत्यारोपण गर्दा १५ देखि २० लाख रुपैयाँ खर्च हुने गर्छ । यद्यपि नेपाल सरकारले ५ लाख रुपैयाँ शोधभर्ना दिने गरेकाले व्यक्तिकै खर्च भने १० देखि १५ लाखको बीचमा हुने गरेको छ ।
मस्तिष्क मृत्यु भएकाबाट १३ जनाको ज्यान बच्यो
केन्द्रले हालसम्म मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मानव अङ्गले १३ जनाको ज्यान बचाइसकेको छ । दुर्घटना वा अन्य कारणबाट मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारबाट अनुमति लिएर झिकिएका अङ्गले १० जनामा मिर्गौला र तीन जनामा कलेजो प्रत्यारोपण भइसकेको छ । यसबाट कुल १३ जनाले आफ्नो ज्यान बचाएका छन्, जहाँ मस्तिष्क मृत्यु भएका ५ जनाबाट अङ्ग झिकिएको थियो ।
के हो मस्तिष्क मृत्यु ?
मस्तिष्कको कार्यक्षमता स्थायी रूपमा बन्द हुनुलाई मस्तिष्क मृत्यु भनिन्छ । मस्तिष्क मृत्यु भइसकेको व्यक्तिलाई कृत्रिम रूपमा अक्सिजन दिएर शरीरमा रक्त सञ्चार गराइराख्ने र शरीरको केही अङ्गलाई चलायमान बनाइराख्ने प्रविधिलाई चिकित्सकीय भाषामा भेन्टिलेटर भनिन्छ । कुनै व्यक्तिको मस्तिष्कले पूर्णरुपमा काम गर्न छाड्यो भन्ने कुरा विभिन्न चिकित्सकीय चेकजाँचबाट पुष्टि भएपछि मात्रै मस्तिष्क मृत्युको घोषणा गरिन्छ । त्यसपछि मात्रै पहिले नै अङ्ग दान गरेको अवस्था वा परिवारको सहमतिमा निजको अङ्ग झिकेर कुनै बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ ।
डा. पुकारका अनुसार मस्तिष्क मृत्यु भएका एक व्यक्तिको अङ्गबाट ८ जनाको ज्यान बचाउन सकिन्छ । त्यसबाहेक पनि आँखाको नानी, छाला लगायतका अङ्ग प्रत्यारोपण गर्न सकिन्छ । ।
आफ्नै भवनको सपना : जहाँ वार्षिक ५ सय जनामा ट्रान्सप्लान्ट होस्
डा. पुकारको अर्को महत्त्वपूर्ण सपना भनेको आफ्नै भवनबाट प्रत्यारोपणको सेवा दिने हो । त्यसका लागि पुकारले पहल थालेको ५ वर्ष भयो । सरकारको नीति तथा कार्यक्रममा पनि केन्द्रका लागि छुट्टै भवन बनाउने भन्ने छ । राष्ट्रपतिले गर्ने बजेट भाषणमा पनि त्यो कुरा आउँछ । अर्थमन्त्रीको नीति तथा कार्यक्रममा पनि केन्द्रको आफ्नै भवनको विषय समावेश हुन्छ । तर यी कुरा अहिलेसम्म भाषण र नीति तथा कार्यक्रममै सीमित छन् ।
यो संस्थाको स्थापना हुँदा अर्थात् सन् २०१२ मै केन्द्रको आफ्नै भवन निर्माण गर्ने कुरा भएको थियो । डा. पुकारले आफ्नो योजना बनाउँदा पनि केन्द्रको आफ्नै भवन भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान नै बनाउने योजना थियो । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर दक्ष जनशक्तिको उत्पादन गर्ने र नेपालमै दक्ष जनशक्ति तयार पारी सातै प्रदेशमा ट्रान्सप्लान्टको थालनी गर्ने पुकारको सपना अझै मरिसकेको छैन । तर त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउन इच्छा नै देखाएको छैन ।
केन्द्रले भक्तपुरमा रहेको इँटा टायल कारखानाको जग्गा उपलब्ध गराइदिन आग्रह गरेको थियो । बन्द भएको इँटा टायल कारखानाको जग्गा प्राप्त भएमा आफ्नै भवन बनाई ट्रान्सप्लान्टलाई तीव्रता दिने सपना भए पनि सरकारले उक्त जग्गा दिन मानेन । अन्य विभिन्न स्थानमा भएका सरकारी जग्गा माग गर्दा पनि उपलब्ध हुन सकेन ।
यद्यपि डा. पुकारको सपना अझै तुहिएको छैन । सरकारले आवश्यक जग्गा उपलब्ध गराइदिएमा अल्पकालीनरुपमा ६ महिनाभित्र संरचना तयार पारी वार्षिक ५ सय जनामा मिर्गौला प्रत्यारोपणको थालनी गर्ने र दीर्घकालीन रूपमा संरचना निर्माण गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाई दक्ष जनशक्तिको उत्पादन र सातै प्रदेशमा प्रत्यारोपण गर्ने योजना रहेको सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया