काठमाडौं । नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकले आजबाट निक्षेप फिर्ता गर्न थालेको छ । बैंकले पुस १७ गतेदेखि दैनिक अधिकतम २५ हजार रुपैयाँका दरले ५० जनासम्मलाई रकम भुक्तानी दिन थालेको जनाएको हो ।
बैंकले सूचना जारी गर्दै बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्न थालेको जनाएको छ।
समस्याग्रस्त घोषणा पछि राष्ट्र बैंकको नियन्त्रणमा रहेको सो बैंक व्यवस्थापन समूहले अधिकतम २५ हजार रुपैयाँका दरले पुस १७ गतेदेखि विभिन्न १६ शाखाबाट निक्षेप फिर्ता गर्न थालेको हो । यसैगरी, बिहीबार १९ शाखाबाट रकम फिर्ता गर्ने जनाएको सूचनामा जनाएको छ ।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समित गठन गरी पठाएको थियो । सो समितिले गत पुस ११ देखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्दै कार्य गरिरहेको छ ।
व्यवस्थापनको जिम्मेवारी पाएको उक्त समितिले बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको डीडीए सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया