बुद्ध एयरद्वारा जहाजको इमर्जेन्सी ढोका खोल्ने यात्रुबाट प्राप्त क्षतिपूर्ति रकम परोपकारी संस्थालाई हस्तान्तरण

जनकपुरधामको महागंगा आरती–गंगासागर र पोखराको वृद्धाश्रमलाई एक/एक लाख सहयोग

लोकपथ
3.3k
Shares

काठमाडौं । बुद्ध एयरले उडानको तयारीमा रहेको जहाजको इमर्जेन्सी ढोका खोल्ने यात्रुबाट प्राप्त क्षतिपूर्तिबापतको रकम परोपकारी संस्थालाई हस्तान्तरण गरेको छ । बुद्धले जहाजको इमर्जेन्सी ढोका खोल्ने यात्रुबाट प्राप्त क्षतिपूर्तिबापतको रकम जनकपुर धामको महागंगा आरती–गंगासागर र पोखराको वृद्धाश्रमलाई एक/एक लाख सहयोग गरेको हो ।

जनवरी १ अर्थात् पुस १७ गतेका दिन पोखराबाट काठमाडौं (उडान सङ्ख्या ६१८) को उडान तयारीमा रहेको क्रममा एक जना यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका थिए । टेक्निकल टिमको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६ बजेर ४० मिनेटमा मात्रै उक्त जहाज काठमाडौंका लागि उडेको थियो ।

यसै गरी, काठमाडौंबाट जनकपुरका लागि अक्टोबर १० का दिन बिहान ६ बजेर ५ मिनेटमा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । 

जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले अचानक जहाजको इमर्जेन्सी ढोका खोलेका थिए । उक्त घटनापछि चालक दलले जहाज पार्किङ–वेमै फर्काएका थिए ।

जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण चेक जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो । 

अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको बुद्ध एयरले जनाएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा क्रमशः एक–एक लाख क्षतिपूर्ति तिराइएको थियो ।

आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै बिस्तृत रूपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपत्कालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन । यसले उडान सुरक्षामै खलल पु-याउने कम्पनीको ठहर छ । 

हवाई उडानमा खलल पु-याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ । विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पु-याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन् ।

बुद्ध एयरले अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम एक लाख रुपैयाँ तिराई तीनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?