माधव नेपालको प्रश्न : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कसको दबाबमा बनाइएको हो ?

लोकपथ
567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त गर्न नसकेको बताए । 

उनले कुनै पनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताए । उनले विमानस्थलहरूको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गरे । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न गरे । उनले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने समेत बताए । उनले काठमाडौस्थित त्रिभुवन विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गरे । 

अध्यक्ष नेपालले भने, ‘कुनैपनि परियोजना तर्जुमा गर्नुभन्दा पहिले त्यसको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा हामीले विशेष ध्यान दिनुपर्छ । हाम्रो समस्या के छ भने हामी लहडको भरमा निर्णय लिन्छौँ । योजना बनाउँछौँ, परियोजना तय गर्छौँ, लगानी गर्छौँ तर प्रतिफल प्राप्त हुँदैन । लगानी भनेको प्रतिफल प्राप्त गर्नकै लागि गर्ने हो । त्यत्तिकै पैसा डुबाउनका लागि लगानी गर्ने होइन । यो कुरा मैले पटक पटक दोहोर्‍याइदिइने छु । अहिले फेरि मैले सुनिरहेको छु कतिपय ठाउँहरूमा डोमेस्टिक एयरपोर्टहरू निर्माणको काम हुन थालिरहेको छ । १६ भन्दा बढी विमानस्थलहरूमा जहाज ओर्लिदैनन्, जहाज पुग्दैनन् । त्यो संख्या अझै १८ पुगिसकेको होला । त्यसको पनि अर्को चोटि रिपोर्ट आओस् । मैले मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । विमानस्थल सञ्चालनको स्थिति र विमानस्थलको उपयोगको बारेमा जानकारी पाउनुपर्‍यो । बनेका विमानस्थलहरूमा त्रुटि भएको छ कि छैन ? पत्रिकामा पढेको त ओर्तिर पनि विमानस्थल बन्न सुरु भइसकेको छ । नाम भनौँ त्यहाँका सांसदहरूलाई फेरि पिर पर्ला । पोखराको हालत त्यही, लुम्बिनीको हालत त्यही, जतिसुकै बल गर्‍यौँ भने पनि लुम्बिनी विमानस्थल जुन ठाउँमा बनेको छ त्यो चल्ने अवस्था छैन भन्ने सबैतिरबाट सुनिन्छ । भारतको सिमानाभन्दा कति टाढा राख्दाखेरि त्यो हुन सक्दछ ? कहिले बनाउन सक्दा हुनुपर्दछ ? यी सबै विषयमा त्यसलाई क्षेत्रीय विमानस्थलको रूपमा सञ्चालन गर्नु एउटा कुरा भयो । बनाउनै काठमाडौंको विकल्पमा बन्नुपर्ने विमानस्थलमा निजगढ हो । लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?