काठमाडौं । नेकपा एमालेले पार्टीबाट निष्कासित डा. भीम रावलको बुधबारको पत्रकार सम्मेलनबारे समीक्षा गरेको छ ।
आज पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा सो विषयमा केही समीक्षा गरिएको तर त्यसमा कुनै तथ्य नरहेको समेत निष्कर्ष निकालेको हो ।
बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले रावलको गाली अपेक्षित नै रहेका कारण पार्टीलाई कुनै असर नगरेको समेत टिप्पणी गरे ।
०७७ सालमा तत्कालीन नेकपाका अध्यक्ष समेत रहेका हालका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको कटाक्षकै कपिपेस्ट रहेको समेत बताए । रावलको भनाइमा नकारात्मकता भरिएको समेत टिप्पणी ज्ञवालीको रहेको छ ।
‘०७७ साल कार्तिकमा प्रचण्डले यीनै भाषामा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तै खालको टिप्पणीहरु गर्नुभको थियो, आरोपहरु लगाउनुभएको थियो । सायद १९ पेजको थियो जस्तो लाग्छ । बुँदाहरु कति थिए मैले बिर्सिँए एक किसिमले ‘कपिपेस्ट’ जस्तै हो । नयाँ कुरा छैन । त्यसले उहाँ (भीम रावल) भित्र कति नकारात्मकता भरिएको रहेछ भन्ने पुष्टि हुन्छ,’ उनले भने ।
त्यस्तै रावलले बुधबार पत्रकार सम्मेलन गरेर गाली मात्रै गरेको भन्दै त्यसले देश नबनाउने समेत बताए । नयाँ शक्तिका नाममा कहिले प्रचण्ड बाबुराम त कहिले रवि लामिछानेहरुले गाली गरेको समेत आरोप लगाए ।
‘गालीगलौजले देश बन्ने भए बाबुराम भट्टराई ज्यू प्रचण्ड जीहरु डिक्सनरीमा भएका सबै शब्दहरु खोजीखोजी गाली गर्नुहुन्थ्यो । अर्को अवस्था आयो रवि जीहरु पनि त्यसैगरी नै उदाउनुभएको हो । गाली गलौज गरेर देश बन्दैन,’ उनले भने ।
बुधबार पत्रकार सम्मेलन गरी रावलले ३१ पृष्ठ बाचन गरेका थिए । जसमा ३० पृष्ठमा ओली र एमालेमाथि कटाक्ष गरिएको थियो भने एक पृष्ठमा मात्रैमा आफ्ना योजनाबारे उल्लेख गरिएको थियो ।
त्यसबारे टिप्पणी गर्दै ज्ञवालीले भने, ‘३१ पृष्ठमा ३० पृष्ठ एक प्यारा गालीगलौज पौने एक प्यारामा अभियान चलाउँछु भन्ने रहेछ । त्यो हामीले छलफल गर्नुपर्ने गम्भीर विषय लागेन । अपेक्षित नै हो यो । सायद त्यही कारणले नै पार्टी उहाँको सदस्यता नै कायम नराख्ने निष्कर्षसम्म पुगेको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया