काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईबाट सुरु हुन्छ ।
त्यसपछि ट्रेलरले मनको तीतो र अभाव देखाउँछ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ ।
रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाउँछ ।
अन्धविश्वास, परिवारको माया, अरूको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा समेट्दै ट्रेलर अन्त्य हुन्छ । यो ट्रेलरले निर्दयी समाजले अभाव र दुःखमा बाँचिरहेको परिवारलाई कसरी भीरको फर्सी बनाउँछ त्यो देखाएको छ ।
पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।
चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया