सशस्त्रको वार्षिकोत्सवको मुखैमा मधेस प्रदेशका बाहिनीपति डीआईजी धौबजीमाथि मुख्यालयको ‘एक्सन’

तस्कर समूहसँग मिलेर काम गरेको आरोप

काठमाडौं ।सशस्त्र प्रहरीको मधेश प्रदेशस्थित नम्बर २ बाहिनीका बाहिनीपति (डीआईजी) कालिदास धौबजीलाई सशस्त्र प्रहरी मुख्यालयले छानबिनका लागि मुख्यालय बोलाएको छ । सशस्त्र मुख्यालयले हिजो बुधबार पत्र पठाएकोमा उनी आज बिहीबार काठमाडौं आइपुगेका छन् ।

पदीय आचरणविपरीत काम गरेको भन्दै उनलाई सशस्त्र मुख्यालय बोलाइएको हो । उनीमाथि तस्कर समूहसँग मिलेर काम गरेको आरोप छ ।

सशस्त्र प्रहरीको मुलुकभर आठ वटा बाहिनी भएपनि पछिल्लो वर्षमा छानबिनका लागि बोलाइएका उनी पहिलो बाहिनीपति हुन् । सशस्त्र प्रहरीले आफ्नो वार्षिकोत्सवमा एक जनालाई उत्कृष्ट बाहिनीपति अवार्ड दिँदै आएकोमा धौबजी भने वार्षिकोत्सवको मुखैमा छानबिनका लागि मुख्यालय आउनु परेको छ । धौबजी यस्ता भाग्यमानी डीआईजी हुन्, जो डीआईजी भएपछि लगातार कमान्डमा छन् । डीआईजी भएपछि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा पहिलो कमान्ड गरेका उनको त्यसपछि नम्बर ४ बाहिनी पोखरामा सरुवा भएको थियो । पोखरा बाहिनीबाटै उनी नम्बर २ बाहिनीमा सरुवा भएका थिए । धौबजी शक्तिकेन्द्रलाई रिझाउन माहिर व्यक्तिका रुपमा समेत चिनिन्छन् ।

उनको यी तीनओटै कमान्ड भने विवादमुक्त रहेन । उनीमाथि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थको समादेशक रहेका बेला म्युजियम बनाउन भन्दै मातहतको तालिम कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको तर नाम मात्रको भवन बनाएको आरोप लागेको थियो ।

यस्तै पोखरामा हुँदा बाहिनीपति निवासनजिकै गेष्ट हाउस बनाउने भन्दै मातहतका कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको आरोप लागेको थियो । पोखरामा हुँदा मातहतका गणपति र गुल्मपतिबाट मासिक रुपमा रकम उठाएको आरोप पनि उनीमाथि छ । उनी बाहिनीपति रहेकै बेला तनहुँस्थित गणका गणपति कमल गैरेलाई सशस्त्र मुख्यालयले फिर्ता बोलाएको थियो । डीआईजी धौबजीलाई नियमित रुपमा रकम बुझाउनु पर्ने भएपछि तत्कालीन गणपति गैरेले ठूलो संख्यामा सशस्त्र कर्मचारी ‘आउट’ छाडेर राशनको रकममा घोटाला गरेका थिए ।

यस्तै, मधेस प्रदेशको बाहिनीपति भएपछि पनि उनले अन्य ठाउँमा जस्तै त्यहाँ पनि भवन बनाउने भन्दै त्यस क्षेत्रका व्यापारी र सशस्त्र प्रहरीका गणपति, गुल्मपति र बेसपतिहरु रकम उठाएका थिए । डीआईजी धौबजीले जथाभावी रुपमा रकम माग्न थालेपछि व्यापारी र सशस्त्र प्रहरीकै अधिकृतहरुले सशस्त्र मुख्यालयमा गुनासो नै गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि पाँच वर्षअघि यहीँको बाहिनीपति थिए । त्यसबेला उनले लिएको भ्रष्टाचारमा ‘शून्य सहनशिलताको नीतिले’ उनी वाहवाही कमाएर फर्केका थिए । तर, अहिले उनी नै संगठन प्रमुख हुँदा उनी यसअघि बसेको बाहिनी भने बदनाम बन्दै गएको छ । उनीमाथि रासनको पैसा खान बाहिनीमा कार्यरत आधारभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु छाड्ने गरेको आरोप पनि छ ।

डीआईजी धौबजी मधेश प्रदेशको बाहिनीपतिमा सरुवा भएको खबरले त्यतिखेर नै त्यहाँका व्यापारी र सशस्त्र प्रहरीका अधिकृतहरुमा बेचैनी बढेको थियो । सशस्त्र प्रहरीको गण, प्रस्तावित गुल्म, बीओपीदेखि बेससम्मका प्रमुखहरुमा बेचैनी बढ्नुको मुख्य कारण भने उनको भ्रष्ट छबी थियो । बाहिनीपति भएर आएपछि पैसा मागेर दिनसक्ने दुःखले त्यसबेला नै उनीहरुमा छटपटी बढेको थियो ।

रकम उठाउनका लागि बाहिनीपति धौबजीले व्यापकरुपमा ‘घुमुवा’ परिचालन गरेका थिए । यसका लागि उनले कोर्ट मास्टर, सञ्चारमा कार्यरतदेखि परिचरलाई समेत घुमुवाको रूपमा परिचालन गरेका थिए ।

स्मरणीय के छ भने, सशस्त्र प्रहरी मुख्यालयले मात्रै नभएर गृह मन्त्रालयसम्मले घुमुवा राख्न नपाउने नीतिगत निर्णय गरेर मातहत कार्यालयलाई परिपत्र गरेकोसमेत लामै समय बितिसकेको छ । तर, यसलाईसमेत उल्लंघन गर्दै बाहिनीपति धौबजीले सशस्त्र प्रहरी बललाई नै बदनाम गर्ने गरी काम गरिरहेका थिए ।

उनले रकम संकलनको जिम्मा सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश महतो र सशस्त्र प्रहरी सहायक हबल्दार सुरेश यादवलाई दिएका चर्चा विगतमा पनि चलेको थियो । यादव यसअघि पाँच वर्ष घुमुवा बसिसकेका व्यक्ति हुन् । उनको दरबन्दी २ नम्बर बाहिनी नै हो । २ नम्बर बाहिनीअन्तर्गत मधेश प्रदेशका आठ वटा जिल्ला सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट पर्छ ।
काठमाडौं कोटेश्वर घर भएका उनले अवैधरुपमा आर्जन गरेको रकमबाट बारास्थित सशस्त्र प्रहरी गणसँगै दुई बिघा, खोटाङको सशस्त्र प्रहरी गुल्मसँगै एक बिघा जग्गा जोडेका छन् । यस्तै, भक्तपुरको कौशलटारमा तीन रोपनी क्षेत्रफलमा बनेको ४० ओटा सटर भएको घर, बोडेगाउँमा पनि जग्गा छ ।

नीलबाराही गणको गणपति हुँदा उनले एपीएफ अस्पताल बलम्बुनजिक दुई रोपनी जग्गा किनेका थिए । उनले सशस्त्र प्रहरी बलमा आएपछि २० करोड रुपैयाँभन्दा बढी रुपैयाँ अवैध रुपमा कमाएको समाचार स्रोतको भनाइ छ ।

डीआईजी धौबजी २०५२ साल असोज २६ गते नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका व्यक्ति हुन् । प्राविधिक पृष्ठभूमि भएकाले उनीमा कमान्ड कन्ट्रोल पनि देखिँदैन । प्राविधिक सईमा प्रवेश गरेर डीआईजी बनेका उनलाई नेपाल प्रहरीका अधिकृतहरुले डीआईजीका रुपमा स्वीकार्न नसकेको स्रोतको भनाइ छ । क्षेत्रीय तहमा नेपाल प्रहरीका अधिकृतसँग पनि उनको राम्रो सम्बन्ध छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?