काठमाडौं । पोखराको सूर्यदर्शन सरकारी ठगी प्रकरणमा आज शुक्रबार जाहेरवाला सहकारीपीडितका तर्फबाट बहस सके लगत्तै प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।
जिल्ला अदालत कास्की का स्रेस्तेदार राजन खनालका अनुसार, आज जाहेरवाला तर्फका केही कानुन व्यवसायीहरूले बहस गर्ने छन् । त्यसपछि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने छन् । हिजो जाहेरवाला सहकारीपीडितका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
जाहेरवालाको तर्फबाट अझै ७ जना अधिवक्ताले वकालतनामा पेस गरेकामा न्यायाधीश नीतिज राईले समय व्यवस्थापन गर्ने गरी केहीलाई मात्र समय दिन सक्ने छन् ।
प्रतिवादीमध्ये पूर्वडीआईजी छविलाल जोशीका ६ जना कानुन व्यवसायीले सुरुमा बहस गर्नेछन् । त्यसपछि रवि लामिछानेका १५ जना कानुन व्यवसायीले बहस गर्नेछन् । यस्तै, लीला पछाईंका तर्फबाट १ जना कानुन व्यवसायी र बाँकी प्रतिवादीका तर्फबाट २/२ जना कानुन व्यवसायीले बहस गर्नेछन् ।
थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडीआईजी जोशी, नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामप्रसाद खनाल, पछाईं, मिना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ प्रतिवादी छन् । उनीहरूविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐनविपरीत कसुर गरेको अभियोग छ ।
‘करोडौँ रकम पचाउने, हैन छैन भन्ने ?’
यस्तै, हिजो भएको बहसमा सूर्यदर्शन सहकारी ठगीसमेत मुद्दाका प्रतिवादीहरूलाई तत्काल पुर्पक्षका लागि थुनामा राख्नुपर्ने जाहेरवाला/पीडित बचतकर्ताका वकिलहरूले जिकिर गरेका छन् ।
मंगलबार र बुधबार सरकारी वकिलहरूको तर्फबाट बहस भएकामा बिहीबार जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र डा. दिनेश त्रिपाठी, अधिवक्ताहरू युवराज पराजुली, बेदबहादुर (बीबी) विष्ट, पुण्यप्रसाद पराजुली र रामचन्द्र गौतम गरी ६ जनाले बहस गरेकामा उनीहरूले सहकारी बचतकर्ताको रकम फिर्ताका लागि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको थप अनुसन्धान गर्नुपर्ने बहस पैरवी गरेका थिए ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति लामिछानेसमेत ६३ जनालाई प्रतिवादी बनाइएको मुद्दा जिल्ला अदालतमा दायर भएको छ । ती प्रतिवादीहरुविरुद्ध कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले थप संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा अभियोगपत्र दायर गरेको थियो ।
प्रतिवादीहरूमध्ये हाल हिरासत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व सञ्चालक पूर्व डीआईजी जोशी, जीबी राईकी साझेदार लीला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद एवं सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ र पूर्व सञ्चालक कृष्णबहादुर गुरुङको सम्बन्धमा थुनछेक बहस भएको हो ।
१ हजार १ सय ५६ जना जाहेरवालाको तर्फबाट बहस गर्नेक्रममा कानुन व्यवसायी वेदबहादुर (बीबी) विष्टले सहकारीपीडितको रकम फिर्ता नभएसम्म आफूले प्रतिवाद गरिरहने बताए ।
उनले अगाडि भने, ‘प्रतिवादीमध्येका एक रवि लामिछानेले सहकारीको सदस्य नभएको र आफूले सहीछाप गरेर ऋण नलिएको जिकिर गरेका गर्नुभएको छ । हो, यही चिज ठगी भयो । सहकारीको सदस्य बनेर सहीछाप गरेर ऋण लिएको भए त अपराध होइन । तर, ‘रवि लामिछाने, पोखरा महानगरपालिका वडा नम्बर ८’ भनी ठेगाना उल्लेख छ । सूर्यदर्शन सहकारीबाट ऋण लिने अहिलेका रास्वपा सभापति रवि लामिछाने हैनन् भने उहाँले आफ्नो बदनाम गर्ने को हो भनी उजुरी गर्नु भएन ?’
‘एकदमै घुमाउरो नदीलाई ‘नागबेली नदी’ भनिन्छ । तर, एक उदाहरण दिँदा त सबैभन्दा बढी घुमाएको त यहाँ देखियो । रकम खाने पचाउने नियतले एकपछि अर्को, घुमाएको घुमायै गरिएको छ । यसको अर्थ यो पैसा कहाँबाट आयो ? भन्ने थाहा नदिन जानी बुझीकन गलत कार्य गरिएको’ विष्टको जिकिर थियो ।
‘प्रतिवादी रामबहादुर खनालले १० लाखको शेयर किन्दिएछन् भन्नुभएको छ । आफूले पैसा दिएको होइन भन्ने दाबी गर्नुभएको छ । रवि लामिछाने, जीबी राई, रामबहादुर खनाल, लीला पछाईंसमेतका प्रतिवादीहरूले सहकारीको शेयर सदस्य नभएको र एक रुपैयाँ पनि पैसा लिएको छैन, हैन भनिरहनु भएको छ । ती सबै प्रतिवादीहरूले एउटै भाषा प्रयोग भएको छ । यसो भन्नुको अर्थ, यी प्रतिवादीहरूको संगठित अपराधमा कोड भाषा प्रयोग भएको हो कि ?’ उनले आशंका व्यक्त गरे ।
‘हैन । छैन । थाहा थिएन । थाहा हुने कुरा भएन । म निर्दोष छु मात्र भन्नुभएको छ,’ अधिवक्ता विष्टले तर्क गरे, ‘यसको अर्थ संगीठत् अपराधमा कोड भाषा प्रयोग गरिने जसरी यहाँ बयान भएको छ । तर यी प्रतिवादीहरूले संगठित अपराध गरेको प्राप्त सम्पूर्ण सत्य तथ्य र प्रमाण कागजले पुष्टि गरेको छ ।’
करोडौँ रुपैयाँ अपचलन हुनुमा सबैभन्दा ठुलो हात लीला पछाईको पनि देखिएको विष्टले बताए । सम्पूर्ण प्रक्रियामा सबैभन्दा सत्य तथ्य रूपमा पछाईं प्रस्तुत पनि भएको विष्टले उल्लेख गरे । तर, पछाईंले १६ करोड ८५ लाखभन्दा बढी रुपैयाँको शेयर किनेको, १६ करोड बराबरमा शेयर बेचेको देखिए पनि पैसा आफूले नचलाएको, हैन, छैन म निर्दोष छु भनिरहनु, यो गलत हो ।
पूर्व डीआईजी जोशीले श्रीमती, छोराको नाममा रकम हिनामिना गरेको पाइएको छ । सहकारीबाट ठगी गरेर लगेको रकमलाई ‘ह्वाइट मनी’ रूपमा देखाउने जाल प्रपञ्च भएको विष्टको ठहर छ । जिल्ला सरकारी वकिलको अभियोगपत्रमा जोशीले ७४ करोड हिनामिना गरेको उल्लेख छ ।
पूर्व गृहमन्त्री एवं रास्वपा सभापति लामिछानेले अदालतमा भने झुटा बोलेको विष्टले आरोप लगाए । अगाडि भने, ‘अदालतमा झुटो बोल्न पाइँदैन । प्रतिवादीमध्येका रवि लामिछाने लाखौँ युवाका लागि आइकन हुनुहुन्छ । उहाँले सत्य तथ्य कुरा स्वीकारीदिएको भए, गल्ती भयो रकम तिर्छु भनी स्वीकारेको भए पीडितको हृदयमा पनि शीतलता आउँथ्यो । यो मुद्दा मिलापत्रमा पनि जान सक्थ्यो । तर, उहाँले त्यो कुरा स्वीकार्नु हुन्न । बचतकर्तालाई रुवाएर पैसा सबै लैजाने, चलाउने, खाने, मास्ने, रमाइलो गर्ने तथा हिनामिना गर्नुभएको छ ।’
उनले विषालु वृक्षको फलको उदाहरण दिँदै परिणामस्वरूप गलत कार्य अथवा गलत तरिकाले गरिएको कामको नतिजा अन्ततः गलत नै हुने दलिल पेस गरे ।
‘गोर्खा मिडिया नेटवर्क प्रालि संगठित रूपमा रहेको समूहले सञ्चालन गरेको सहकारीको बचत रकम हिनामिना गरी प्राप्त गरेको रकमबाट सञ्चालन गरेको देखिए आएबाट कानुनविपरीतको कार्य भएकाले सोको परिणाम पनि कानुनविपरीत नै हुन्छ,’ उनले अगाडि भने, ‘आज यिनै बचतकर्ताबाट करोडौँ रकम लुटेर, ठगेर लगेका थिए, त्यत्रो लगानी गरेको टेलिभिजन आज डुबेर गयो । यिनलाई कुनै पश्चात्ताप छैन । आफूले गरेको भए पो पीडा हुन्छ ।’ तसर्थ उनले हाल अदालत उपस्थित गराइएका ७ मध्ये ६ जना प्रतिवादीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै माग दाबी गरे ।
उनका अनुसार ७८ वर्षीय प्रतिवादी कृष्णबहादुर गुरुङलाई साधारण तारेखमा रिहा गर्नुपर्छ । उनले भने, ‘ज्येष्ठ नागरिक ऐन २०६३ बमोजिममा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने सबैको कर्तव्य हुन्छ । सर्वोच्च अदालतले समेत ज्येष्ठ नागरिकलाई गरिने संरक्षण र सम्मानले समाजको चेतनाको स्तर देखाउँछ भनेको छ । जीवनको उत्तरार्धमा पुगेको मान्छे जसले सहकारीमा प्रत्यक्ष ठगी गरेको भन्ने छैन, उनी सहकारीको तत्कालीन सञ्चालक सदस्य रहेकोमा त्यो कार्यकालमा १ करोड ५४ लाख वरिपरि हिनामिना भएको देखियो । उहाँको पदीय दायित्व हो, तर जीवनको उत्तरार्धमा पुगेको मान्छेलाई थुनामा राखिरहनुपर्दैन । आजै साधारण तारेखमा रिहा गरे नि हुन्छ ।’
ज्येष्ठ नागरिक ऐन, २०६३ ले समेत ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत सजाय छुट गर्ने व्यवस्था गरेको छ ।’ पोखरा–१२, रानीपौवा निवासी भूपू ब्रिटिस लाहुरे कृष्णबहादुर पूर्व सांसद मीना गुरुङका बाबु हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया