ग्लोबल आईएमई बैंकको १८औँ वार्षिकोत्सव: सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड 

१६६ कर्मचारी सम्मानित, फोनपे नेटवर्कमा आवद्ध क्यूआर मर्चेन्टलाई विषेश सम्मान

लोकपथ
28
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ । मुलुककै ठुलो बैंक ग्लोबल आईएमई बैंक पुस १८ गतेबाट १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको हो । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आईएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेको बताए । उनले ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।

अध्यक्ष ढकालले अहिलेको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै बैंकका सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी रहेको बताए ।

बैंकले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको दाबी गरे । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरूको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै मिहिनेत र लगनशीलता मात्र लक्ष्य प्राप्त हुने उनको धारणा छ ।

सम्पूर्ण कर्मचारीहरूको अथक मिहिनेत र लगनशीलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्‍याएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गरे ।

यसै गरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

रेग्मीले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फोनपे नेटवर्कमा आबद्ध क्युआर मर्चेन्टहरुलाई विशेष सम्मान
बैंकले सो अवसरमा बैंकको फोनपे नेटवर्कमा आबद्ध भएका क्युआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजनाहरू सार्वजनिक गरेको छ । यो योजना पौष १८ गते बिहीबार देखी माघ १८ शुक्रवारसम्म सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

उपहार योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकमा आबद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजनाअवधीमा एक सय ८० वा सो भन्दा बढी रुपैयाँको भुक्तानी फोनपे क्युआर कोड मार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक एक सय ८० क्यास ब्याक प्राप्त गर्नेछन् ।

योजना अवधिभर क्युआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरु मध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् । योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्ने अवसर पनि पाउनेछन् । साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् ।

१६६ कर्मचारीलाई सम्मान
ग्लोबल आईएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारीहरूलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन् ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको वेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?