गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार रावल र विष्टलाई

लोकपथ
42
Shares

काठमाडौं । सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१’ पर्वत जिल्लामा महिलाहरूद्वारा सञ्चालित सामुदायिक एफ. एम. रेडियो ९५२ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

संस्थागतरूपमा प्रदान गरिने यो पुरस्कार प्रमाणपत्र सहित नगद २५ हजार एक रुपैयाँ रहेको छ । यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार यस वर्ष जिल्लालाई कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका राजधानी दैनिकका बझाङका सम्वाददाता एवं नेपाल पत्रकार महासंघ बझाङका सभापति डी.बी. विष्ट र नुवाकोटमा रहेर विभिन्न सञ्चार माध्यममा आबद्ध हुँदै हाल ‘यो समय’ अनलाइन को सम्पादन गरिरहेका ध्रुव रावललाई प्रदान गर्ने निर्णय सम्पादक समाज नेपालले गरेको छ ।

यो पुरस्कार जनही १५ हजार एक रुपैयाँ र प्रमाणपत्र सहति प्रदान गरिने छ । सम्पादक समाज नेपालको २०८१ पुस १७ गते बसेको बैठकले यस वर्षका लागि वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि सम्पादक समाज नेपालको अभिभावकत्व वहन गरेकोमा सम्पादक समाज नेपालका संस्थापक स्व. गोविन्द वियोगीकी धर्मपत्नी कृष्णवदन वैद्यलाई अभिनन्दन गर्ने निर्णय समेत गरेको छ । बैठकले आगामी माघ ५ गते शनिबार संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौर, शिवपुरी–७ मा पुरस्कार, सम्मान एवं अभिनन्दन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?