विश्वविद्यालयको संरक्षक परिषद् समावेशी बनाउन सांसदको सुझाव

लोकपथ
21
Shares

काठमाडौं ।  सांसदहरुले प्रस्तावित तिलगङ्गा नेत्र विश्वविद्यालयको संरक्षक परिषद् समावेशी बनाउन सुझाव दिएका । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफलमा सहभागी सांसदहरुले संरक्षक परिषद् गठन गर्दा महिलासँगै मधेसी, दलित र अपाङ्गलगायत समूहका सदस्य राख्नुपर्नेमा जोड दिए । 

संशोधनकर्ता डा.बेदुराम भुसालले विश्वविद्यालयको प्रस्तावित संरक्षक परिषद् गठनमा समावेशिताको सिद्धान्त अवलम्बन गर्नुपर्ने राय राखे । उनले विश्वविद्यालयको उपाध्यक्षलाई सदस्य बनाउन नहुने सुझाव प्रस्तुत गरे । 

समिति सदस्य सुरेशकुमार आलेमगरले पनि परिषद्लाई समावेशी बनाउन सुझाव दिए । विधेयकमाथि सुझाव राख्दै भने, ‘समावेशी खै त ? परिषद् संरक्षकमा दुई जना महिला सदस्य राख्दैमा समावेशिता हुँदैन !’

संशोधनकर्ता विष्णुबहादुर विश्वकर्माले परिषद् गठन गर्दा दलितलाई समेट्नुपर्नेमा जोड दिए । संशोधनकर्ता डा.अञ्जान शाक्यले परिषद्मा गैरप्राज्ञिक व्यक्ति अध्यक्ष बन्न नहुने धारणा राखे । 

समिति सभापति तुलसाकुमारी दाहालले सहभागितामूलक बनाउन सरोकारवाला (तिलगङ्गा प्रतिष्ठान)सहमत भएको सदस्यहरूलाई जानकारी गराए। उनले त्यसैका लागि परिषद्मा १५ बाट १७  सङ्ख्या पुर्‍याउन सहमति जुटाउन सहज भएको बताइन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेले आर्थिक प्रभावमा अध्यक्ष बन्ने सम्भावना रोक्नका लागि विधेयकले व्यवस्था गरेको समितिलाई जानकारी दिए । 

संरक्षक परिषद्मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहसचिव, चिकित्सा शिक्षा आयोगको निर्देशक, विश्वविद्यालयको प्राज्ञिक मामिला हेर्ने उपाध्यक्ष सदस्य र विश्वविद्यालयको व्यवस्थापन मामिला हेर्न उपाध्यक्ष सदस्य सचिवका रूपमा रहने व्यवस्था छ । 

यस्तै मान्यता प्राप्त विश्वविद्यालयबाट नेत्र चिकित्सा विधामा स्नातकोत्तर उपाधि प्राप्त र नेत्र रोग विशेषज्ञका रूपमा कम्तीमा १५ वर्षको कार्य अनुभव भएको व्यक्तिबाट कम्तीमा एक जना महिलासहित दुई जना सदस्य हुने व्यवस्था छ । साथै आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञमध्येबाट एक जना र विश्वविद्यालयलाई सहयोग उपलब्ध गराउने दातामध्येबाट एक जना सदस्य हुने प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?