‘बैंकको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाब’

लोकपथ
105
Shares

काठमाडौं । बैंकहरुको आम्दानीको स्रोत सीमित हुँदा बैंकहरुको मुनाफामा दबाब सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् । नेपालको बैंक तथा वित्तीय संस्थाहरूको आम्दानीको स्रोत सीमित हुँदा पछिल्लो समय मुनाफा घट्दै गएको उनीहरूको दाबी छ ।

बैंकहरुको ८० प्रतिशत आम्दानी कर्जा लगानीको ब्याजमा नै निर्भर रहेको छ । पछिल्लो समय बैंकहरुले निजी क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैन । त्यसले पनि आम्दानीमा कमी देखिएको छ । बैंकर्सहरुकाअनुसार बैंकहरुको कर्जा लगानीको ब्याज तथा सावाँ समेत संकलन गर्न मुस्किल देखिएकाले आम्दानीमा मात्रै नभएर सम्पत्ति गुणस्तरमा समेत कमजोर बन्दै गएको देखिन्छ । 

बैंकको सम्पत्ति कर्जाको धितो नै ८० प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको पछिल्लो समय खराब कर्जा समेत उल्लेख्य मात्रामा बढ्दै गएको छ । यसले बैंक तथा वित्तीय संस्था समस्या र चुनौतीपूर्ण अवस्थामा पुर्‍याउन सक्ने अवस्था देखिएको उनीहरूको भनाई छ । 

बैंक तथा वित्तीय संस्थामा पर्ने असरले समग्र मुलुकको अर्थतन्त्रमा समेत चुनौती देखिने सरोकारवालाहरूको भनाई छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तरबिरोध रहेको बताए । 

उनले मुलुकको अर्थतन्त्रमा मुख्य गरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र वाह्य क्षेत्रको सन्तुलनमा चुनौती रहेको बताए । उनले  बैंक तथा वित्तीय क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरुको सम्पत्तिको गुणस्तर घट्दो अवस्थामा रहेको बताए ।

उनले खराब सम्पत्तिको देखिने आकार मात्रै घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहालि लाग्दो अवस्था रहेको उल्लेख  गरे । उनले बैंकहरुको सम्पत्तिको गुणस्तर कमजोर देखिइएका अन्तर्राष्ट्रिय निकायहरूले बैंकहरुको मूल्याङ्कन परम्परागत नियमनले मात्रै नभएर ऋणीकै तहमा पुग्न र कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोगका विषयमा छानबिन गर्नुपर्ने प्रश्न उठाएको उल्लेख गरे ।

उनले प्रभावकारी नियमन भए पनि बैंकको सम्पत्ति गुणस्तर नहुँदा चाहेको क्षेत्रमा लगानी प्रवाह हुन नसकेको बताए । उनले  बैंक तथा वित्तीय संस्था र रियल क्षेत्र बिचको सम्बन्ध प्रभावकारी नभएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?