खोटाङ । खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो ।
छ वटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प) प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र १२ कास्यगरी ३६ वटा पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्डसहित नगद एक लाख ११ हजार १११ को साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका छन् । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि खाना तथा खाजाको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले पाँच लाख तथा राष्ट्रिय खेलकुद परिषद्ले एक लाख उपलब्ध गराएको प्रतियोगिताका सहआयोजक भाषा माविका प्रधानाध्यापक राजु खड्काले जानकारी दिए । गाउँपालिका तथा राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकमले प्रतियोगिताका विजयीलाई पुरस्कारदेखि व्यवस्थापनसम्मको खर्च धान्नुपर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया