काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ ।
उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क संकलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकै पटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ ।
कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी कूल १५ हजार नौ सय ३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत तीन हजार आठ सय ६६, कक्षा ७ मा तीन हजार ३३, कक्षा ८ मा तीन हजार एक, कक्षा ९ का दुई हजार नौ सय ८७ र कक्षा १० का दुई हजार सात सय ९९ जना गरी विद्यालय तहमा १५ हजार छ सय ८६ जनालाई खोप लगाइने छ ।
यस्तै विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे छलफल भइरहेको श्रेष्ठले बताउनुभयो । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।
नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया