सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्यांकन गर्ने

लोकपथ
35
Shares

काठमाडौं । सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन (डिडिए) गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले सुदूरपश्चिम र जाजरकोटमा बाढी र भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन गर्ने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले बैठकले गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्यांकन (डिडिए) गर्ने निर्णय समेत गरेको बताए । उनले डिडिए सम्पन्न भइसकेका क्षेत्रहरुमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम प्रारम्भ गर्ने निर्णय भएकोसमेत जनकारी दिए ।

उनकाअनुसार बैठकमा बझाङ, बाजुरा र जाजरकोटमा गएको भूकम्पले गरेको क्षति र त्यसको पुनर्निर्माणको लागि आवश्यक कानुनी एवं आर्थिक विषयमा पनि छलफल भएको छ । गृहमन्त्री लेखकले उक्त निर्णयहरु विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेस गरिने बताए । राष्ट्रिय परिषद्को बैठकबाट सदर भएपछि यी निर्णयहरु कार्यान्वयनको चरणमा जाने उनको भनाइ छ । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आइतबारसाँझ ७ बजे बालुवाटारमा बस्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?