काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय राजावदी शक्तिहरु पछिल्ला दिनहरुमा सक्रिय हुन थालेको टिप्पणी गरेका छन् ।
आजबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी शक्तिहरु अराजकतालाई बढवा दिन लागिपरेको आरोप लगाएका हुन् ।
‘पछिल्लो समय पूर्व राजावादी समूह या व्यक्तिहरु पनि अराजकतालाई बढवा दिन सक्रिय छन् । २४० वर्षे शाहवंशीय शासनकाल, त्यस अवधिमा मुलुकले ब्यहोर्नपरेको दुर्दशा र लोकतन्त्र खोसिएको पीडादायी इतिहासमाथि पर्दा हाल्दै यतिबेला उनीहरु १६ वर्ष अगाडि मात्रै स्थापित भएको नवोदित गणतन्त्रमाथि हिलो छ्याप्ने र जनतामा निराशा फैलाउन उद्दत देखिन्छन्,’ ओलीले भनेका छन्, ‘भिन्नभिन्न बाटोमा हिँडिरहेका अराजकता र अस्थिरताका संवाहकहरुलाई एक ठाउँमा उभ्याउने र अराजकताका परीक्षण गर्न विभिन्न शक्तिकेन्द्रहरु प्रयन्तशील छन् ।’
त्यस्तै ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रले जगाएको समृद्धिको सपना र नेपालको संविधानले कोरेको सुशासनको आकांक्षा र नेकपा एकीकरण हुँदा राजनीतिक स्थायीत्वको अपेक्षा त्यसपछि सहज ढंगले अघि बढ्न नसकेको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया