प्रेम आलेलाई भारतमा ‘हिन्दू रत्न अवार्ड’

लोकपथ
126
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेलाई विश्व हिन्दू महासंघद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान गरिएको छ ।

विश्व हिन्दू महासंघद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा आलेलाई हिन्दू धर्म संरक्षण एवं सम्वद्र्धनको अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दू महासंघका पदाधिकारीहरुले सो अवार्ड प्रदान गरेका थिए ।

विश्व हिन्दू महासंघले यो अवार्ड हरेक पाँच वर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दू धर्मको संरक्षण र सम्बर्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदान गर्ने गर्दछ ।

हिन्दू धर्मको संरक्षण र सम्वद्र्धनका साथै सनातन हिन्दू धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ठ योगदान गरेकाले पूर्वमन्त्री आलेसहित भारत तथा विश्वका विभिन्न देशका वरिष्ठ व्यक्तित्वहरुलाई यो अवार्ड प्रदान गरिएको हो ।

शुक्रबार आयोजित सो विशेष समारोहमा विश्वहिन्दू महासंघका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिहरुसहितका विशिष्ट अतिथिहरुको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।

सो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरुमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरु एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय पतका, भारतका प्रसिद्ध समाजसेवी भगवान गंगाराम पाण्डे, भारतका प्रसिद्ध समाजसेवी राजश्री बिरला, श्रीलंकाका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिंगापुरका अध्यक्ष ओमप्रकाश राई लगायत रहेका छन् ।

सो कार्यक्रममा बोल्दै पूर्वमन्त्री आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुसहित अवार्ड प्रदान गरेकोमा विश्व हिन्दू महासंघलाई विशेष धन्यवाद ज्ञापन गर्दै उक्त प्रसिद्ध अवार्डले आफूलाई निकै खुसी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?