काठमाडौं । बेलकोटगडी नगरपालिका–५ नुवाकोटको आयोजना तथा एथ्लेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा ‘नवौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’हुने भएको छ ।
आगामी माघ ५ गते नुवाकोटस्थित कोल्पुटार, बेलकोटगढी नगरपालिकामा हुने प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा हुने आयोजक संस्थाका संस्थापक एवम् पूर्वएथ्लेटिक्स खेलाडी मोहन नेपालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा १३ दशमलव पाँच किलोमिटर दौड खुला र सोही विधामा खुला स्थानीय, चार दशमलव पाँच किमी खुला जुनियर (१६ वर्षमुनि) र सोही विधामा १६ वर्षमुनिका स्थानीय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी प्रतियोगितामा चार दशमलव पाँच किमी दौडमा ४५ वर्षमाथि उमेर समूह, १३ दशमलव पाँच किमीको भेट्रान खुला पुरुष र स्थानीय ज्येष्ठ नागरिक ९ पुरुष र महिला वाक एन्ड टक विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १३ दशमलव पाँच किमी दौड खुलातर्फ पहिलोस्थान हासिल गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन् भने दोस्रो स्थान हासिल गर्नेले १३ हजार ३३४ पाउनेछन् । यस्तै, तेस्रो स्थान हासिल गर्ने खेलाडीले छ हजार ६६७ पाउनेछन् ।
यस्तै, सोही १३ दशमलव पाँच किमी दौडको स्थानीय तर्फको विधामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १३ हजार ३३४, नौ हजार ३३४ र ६ हजार ६६७ प्राप्त गर्नेछन् । यस्तै, चार दशमलव पाँच किमी खुला जुनियर (१६ वर्षमुनि) र ४५ वर्षमाथि उमेर समूहमा पहिलो हुने खेलाडीले आठ हजार, दोस्रोले रु पाँच हजार ३३४ र तेस्रोले रु दुई हजार ६६७ प्राप्त गर्नेछन् ।
भेट्रान खुलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले दश हजार ६६७, आठ हजार र ५ हजार ३३४ पाउनेछन् । यसैगरी स्थानीय ज्येष्ठ नागरिक पुरुष र महिलातर्फको विधामा पहिलो हुने खेलाडीले १६ हजार, दोस्रोले दश हजार ६६७ र तेस्रो हुने खेलाडीले रु आठ हजार पाउनेछन् । उक्त प्रतियोगितामा सहभागिता जनाउने खेलाडीले आगामी माघ ३ गतेसम्म नामावली दर्ता गराइसक्नुपर्नेआयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया