काठमाडौं । तस्करसँगको साँठगाँठ र राजस्व असुलीमा गडबड गरेको भन्दै बोलाइएका सशस्त्र प्रहरीका तीन जिल्लाका प्रमुख .(गणपति) सहित १५ जना अधिकृतहरुलाई दुई साताभन्दा बढी प्रधान कार्यालय हल्चोकमा घाम ताप्न दिइएर कार्यक्षेत्र फर्कन अनुमति दिइएको छ ।
मोरङका एसपी विश्व खड्का, बाँकेका एसपी विमल डाँगी र धनुषाका एसपी दर्शन गिरीसहितलाई आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कडा चेतावनीका साथ कार्यक्षेत्र फर्केर राम्रो काम गर्न अनुमति दिएका हुन् । उनीहरु आज सोमबार कार्यक्षेत्रमा खटिन जाँदै छन् ।
स्रोतका अनुसार, बाराका गणपति सन्तोषबहादुर सिंहलाई पनि सोधपुछका लागि बोलाइएको थियो । तर उनी आफू बिदामा पनि रहेको र आफूले पदीय आचरणविपरीत कुनै पनि काम नगरेको भन्दै बयानका लागि प्रधान कार्यालय आउन अस्वीकार गरेका थिए । बरु उनले आफूले विगतमा भन्दा ४० प्रतिशत बढी राजस्व संकलन गरेको जवाफ प्रधान कार्यालयलाई फर्काएका थिए । उनी आउन अस्वीकार गरेपछि बारा गणबाट एसपी र डीएसपीलाई बोलाइएको थियो ।
यी चारवटै जिल्लाबाट राजस्वमा समस्या देखिएपछि केही गुल्म र बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुखहरुलाई पनि बोलाइएको थियो ।
स्रोतका अनुसार, सीमा सुरक्षा विभागका प्रमुख एआईजी चन्द्रप्रकाश गौतम (सीपी गौतम) ले उनीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रिपोर्ट गरेपछि उनीहरुलाई प्रधान कार्यालय बोलाइएको थियो ।
प्रधान कार्यालय बोलाएको लामो समय बितेपछि उनीहरुमाथि कस्तो कारबाही गर्ने भन्ने विषयमा आईजीपी अर्यालले जिम्मेवार अधिकृतसँग छलफल थालेका थिए । व्यक्तिगतरुपमा भएको छलफलमा आईजीपी अर्याललाई कसैले नयाँ गणपति पठाउन, कसैले उनीहरुको गणको जिम्मेवारी परिवर्तन गर्न सुझाव दिएका थिए । कसैले भने उनीहरुको गणपतिको कार्यकाल सकिन लागेको भन्दै चेतावनी दिँदै कर्यरत क्षेत्रमै पठाउन सुझाव दिएका थिए ।
गतवर्ष फागुनमा जिल्ला प्रमुखका रुपमा खटाइएका एसपीहरु सामान्यतः एक वर्ष पूरा भएपछि मात्रै सरुवा हुनेछन् ।
आईजीपी अर्यालले तेस्रो विकल्पमा सहमति जनाएपछि बाहिनीपतिको जिम्मा लगाउने भन्दै बाहिनीपतिहरुलाई पनि प्रधान कार्यालय झिकाइएको थियो । त्यसपछि १ नम्बर बाहिनीका निमित्त बाहिनीपति मनिष थापा, २ नम्बरका बाहिनीपति डीआईजी कालीदास धौबजी र ५ नम्बरका बाहिनीपति प्रदीप पाल प्रधान कार्यालयमा हाजिर भएका थिए । पाल भने आमा बिरामी भएको भन्दै केही दिनदेखि काठमाडौंमै थिए । उनी १० दिनको बिदा लिएर काठमाडौं आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया