अमेरिकामा भारी हिमपात, ६ करोड बढी मानिस प्रभावित

लोकपथ
21
Shares

न्युयोर्क । अमेरिकाका विभिन्न राज्यमा भएको भारी हिमपातका कारण छ करोड बढी मानिस प्रभावित भएका छन् । आइतबार देखीको हिमपातका कारण धेरै राज्यमा आपत्काल घोषणा गरिएको छ । 

यो वर्षको हिमपात पछिल्लो १० वर्षको सबैभन्दा खराब हुनसक्ने अनुमान गरिएकाले विभिन्न सात राज्यमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

हिमपातका कारण केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरी लगायतका धेरै राज्यहरूले आपत्काल घोषणा गरेका छन्।

अमेरिकाको राष्ट्रिय मौसम विभागले यो आँधीले अमेरिकाका छ करोडभन्दा बढी मानिसको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित पार्न सक्ने जनाएको छ । यतिखेर सामान्यतया न्यानो मौसम हुने फ्लोरिडामा पनि भारी हिमपात भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कन्सास र मिसौरी राज्यका लागि विशेष चेतावनी जारी गरिएको छ । राष्ट्रिय मौसम विभागका अनुसार यी दुई राज्यका धेरै क्षेत्रमा आठ इन्चसम्म हिमपात हुनसक्ने देखिएको छ भने अहिले पनि यहाँ ७२ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।

ध्रुवीय भोर्टेक्स नै अमेरिकामा भइरहेको यो हिमपात मुख्य कारण मानिन्छ । ध्रुवीय भोर्टेक्सहरू घडीको उल्टो दिशामा बग्छन् । ध्रुवीय भोर्टेक्स र यसको भौगोलिक संरचनाको कारण सामान्यतया उत्तरी ध्रुव वरिपरि घुमिरहन्छ । तर जब यो दक्षिणतिर सर्छ तब यसले अमेरिका, युरोप र एसियामा कडा चिसो ल्याउन सुरु गर्छ ।

मौसम विज्ञहरूका अनुसार यी ध्रुवीय हावाले युरोप र एसियामा पनि उड्ने भएकाले सो क्षेत्रमा पनि चिसो बढ्ने र हिमपात हुने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?