काठमाडौं । एकै बाबुआमाका सात छोरा छोरी सरकारी कमर्चारी ? त्यसमा पनि सबै जना सुरक्षा निकायमा ? पत्याउनै मुस्किल हुन्छ । तर यो यथार्थ हो ।
सुदूरपश्चिम प्रदेशअन्तर्गतको डोटीको केआई सिंह गाउँपालिका–६ का प्रेमराज र बासुदेवी जैशीका सात छोरा छोरी छन् । ६ जना छोरा र एक जना छोरी । उनीहरु सबै सुरक्षा निकायमा भर्ती भए । जैशी परिवारलाई फौजी जागिरले यसरी छोयो कि एक पछि अर्काे गरी सबै जना त्यहीँ भर्ती भए । एक जनाले अवकाश लिने र अर्काे भर्ती हुने क्रमले २०७३ सालसम्म निरन्तरता पायो ।
जैशी दम्पत्तीका पाँच छोरा र एक छोरी नेपाली सेनामा भर्ती भए भने एक जना सशस्त्र प्रहरी बलमा । सात सन्तानमध्ये नेपाली सेनामा कार्यरत दुई जनाले अवकाश जीवन बिताइरहेका रहेका छन् ।
जेठा छोरा टीकाराम र माइला धर्मराज २०५४ सालमा नेपाली सेनाको सैनिक पदमा भर्ना भएका थिए । उनीहरु दुबै जनाले अहिले अवकाश जीवन बिताइरहेका छन् । टिकारामले २०७१ र धर्मराजले २०७० सालमा अवकाश लिए । टीकाराम अहिले नवजीवन सहकारी संस्था कैलालीमा सुरक्षा गार्ड छन् । माइला छोरा धर्मराजले भने धनगढीमै भूपू सैनिक होटल सञ्चालन गरेका छन् ।
यी दुई दाजुभाइले अवकाश लिएको केही समयमै प्रेमराज र बासुदेवी जैशीका एक मात्र छोरी सरिताकुमारी जैसी पनि २०७२ सालमा सेनामै प्रवेश गरिन् । कान्छा छोरा हरिष पनि २०७३ सालमा सेनामा प्रवेश गरे ।
सात सन्तानमध्ये साइला छोरा सहदेव भने २०५९ सालमा सशस्त्र द्वन्द्वका बेला सशस्त्र प्रहरी बलमा भर्ती भए । सहदेव अहिले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा वरिष्ठ हवल्दार पदमा कार्यरत छन् ।
उनीमुनीका सबै जनाले नेपाली सेना नै रोजे । सहदेवपछिका छविलाल २०६१ र उनी पछिका भाइ भोजराज २०६८ सालमा सेनामा भर्ती भए । छबिलाल अहिले हबल्दार भएका छन् । उनी सुदूरपश्चिम पृतना हेडक्वाटर कैलालीमा कार्यरत छन् । भोजराज पनि हबल्दार नै छन् । उनी यूएन मिसनमा कंगो जानका लागि शान्ति तालिम केन्द्र पाँचखाल, काभ्रेमा तालिम गरिरहेका छन् ।
सरिता र हरि भने नेपाली सेनाको जवान नै छन् । सरिता सुदूरपश्चिम पृतना हेडक्वाटर कैलालीमा कार्यरत छिन् । हरि भने वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत छन् ।
सात दाजु भाइ र बहिनीमध्ये वरिष्ठ हबल्दारमा पुग्ने सहदेव मात्रै हुन् । विकट डोटी जिल्लामा जन्मेका उनी मिलनसार र हँसिलो स्वभावका मात्रै छैनन्, सहयोगी र रसिक पनि छन् । ठट्यौली भावमा उनी भन्छन्, ‘सात सन्तान फौजी भए पनि सबैभन्दा ठूलो पदमा पुग्ने मै नै हुँ ।’
२० वर्ष लामो फौजी जीवनमा उनले धेरै अनुभव बटुले–कहिले सहज र कहिले जटिल । सहज हुँदा पनि उनी कहिले पनि पुलपुलिएनन् भने दुःखको अवस्थामा पनि निराश भएनन् । ‘देशको सेवा गर्न म सशस्त्र प्रहरीमा छिरेको हुँ, सुरक्षा सेवामा लागेर देशका लागि काम गर्नुपर्छ भन्ने आत्मबलले मलाई कहिले पनि निराश बनाएन,’ सहदेव भन्छन् ।
सहदेवलाई आफ्ना सबै दाजुभाइ र बहिनी फौजी भएकोमा धेरै खुसी लाग्दो रहेछ । ‘ग्रामिण बस्तीमा जन्मेर, हुर्किएका हामी सबै दाजु भाइ र बहिनी सुरक्षा क्षेत्रमा लाग्यौं, यो नै एउटा खुसीको कुरा हो, यस्तो घटना बिरलै हुन्छ होला,’ उनले गर्वका साथ भने ।
आफूभन्दा धेरै सानी बहिनीले पनि फौजी जीवन नै रोजेकोमा सहदेव धेरै खुसी छन् । ‘हामी दाजुभाइको फौजी जीवन देखेर परिवारकी एक्ली बहिनी सरिता पनि सेनामा भर्ती भइन्, यो हामी सबैको लागि खुसीको विषय हो, उनी नेपाली सेनामा जवान पदमा छिन्,’ सहदेव गर्वका साथ भन्छन् ।
सातै जना छोरा छोरी फौजी भएकोमा उनका बाबुआमा पनि अत्यन्तै खुसी छन् । ‘सबै छोरा छोरी फौजी बनेकोमा हामी बाबु आमा धेरै खुसी छौं, सबै जना देशको सेवा गर्न लागेका छन्, फौजी बनेकोमा सबै छोरा छोरी खुसी छन्, आ–आफ्नो खुट्टामा उभिएका छन्, छोराछोरीको खुसी नै हाम्रो खुसी हो,’ बाबु प्रेमराज भन्छन् ।
सातै जना सन्तानलाई सुरक्षा निकायमा प्रवेश गराएको भन्दै प्रेमराज दम्पतीलाई नेपाली सेना र सशस्त्र प्रहरीले सम्मानसमेत गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया