काठमाडौं । कैलालीमा ४६ जना पूर्व माओवादी घटक नेताहरुले नेकपा एमाले छाडेको भन्दै सामूहिक राजीनामा दिएका छन् ।
कैलालीको गोदारी नगर कमिटीका अध्यक्षलाई सम्बोधन गर्दैै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछि एमाले कित्तामा रहेका ४६ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनीहरुले सामूहिक रुपमा राजीनामा बुझाउँदै नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुलाई अपमानित गरेको तथा पूर्व माओवादी भनेर अपहेलित भएको भन्दै पार्टी छाडेको बताएका हुन् ।
तत्कालीन नेकपा विभाजन हुँदा उनीहरु एमालेमा नै रहेका थिए । एमालेका सचिव समेत रहेका लेखराज भट्टसँगै एमाले कित्तामा उनीहरु रहे पनि अपमानित गरेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
‘…तर यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटकपटक अपमानित हुनुपर्ने, राजनीतिको रुपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्वकैविरुद्ध तलदेखि गुटबन्दी गर्ने परम्पराभित्र बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हौँ,’ राजीनामा पत्रमा भनिएको छ, ‘अहिलेको एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जतिसक्यो भित्र्याउने नीति भए पनि त्यसको विरुद्ध मुख्य नेतृत्व खासगरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरुले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौँ । त्यसैले आजकै मितिदेखि हामी तपसिलका कमरेडहरुले नेकपा एमाले परित्याग गर्ने निर्णय गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया