नाडाले गर्‍यो संस्थागत एसोसिएसनसँग बृहत् अन्तरक्रिया 

लोकपथ
35
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसनले आफ्ना संस्थागत एसोसिएसनसँग वृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ । नाडाले हेटौडा अटोमोवाइल्स एसोसिएसन र नाडा संस्थागत एसोसिएसनका पदाधिकारी तथा सदस्यहरूसँग हेटौँडामा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

हेटौँडा अटोमोवाइल्स एसोसिएसनको २४ औँ वार्षिक साधारण सभाको सन्दर्भमा आयोजना भएको नाडाले जनाएको छ । 

नाडाका अध्यक्ष करण चौधरीको उपस्थिति रहेको कार्यक्रममा सदस्यहरूले अटोमोवाइल क्षेत्रमा देखा परेको विभिन्न समस्याहरूका बारेमा प्रश्न र जिज्ञासाहरू उठाएका थिए। छलफलका विषयहरूमा भन्सार विभाग र वाणिज्य विभागको एमआरपी विषय, भन्सार मूल्याङ्कनको समस्या, व्यापारीका कारण भएका समस्याहरू, मधेस प्रदेशमा विना प्यान नम्बरका ३००० पसलहरूको नकारात्मक असर, भ्याटमा दर्ता राख्ने लेखा सम्बन्धी समस्याहरू, व्यवसायमा चेक बाउन्सको व्यावहारिक समस्या, इन्स्योरेन्समा आबद्ध नभएका अटोमोवाइल व्यवसायीहरूको समस्या र नाडाका प्रदेश एसोसिएसनलाई साधारण सभा सम्पन्न गर्नका लागि आर्थिक सहयोगका आवश्यकता जस्ता विषयमा विस्तृत छलफल भएको थियो।

कार्यक्रमको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरूको उत्तर दिएका थिए र नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एमआरपी सम्बन्धी प्रश्नहरूको जवाफ दिएका थिए।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले प्रदेशहरूको लागि कर, भन्सार र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास तालिमको आयोजना गर्न आग्रह गर्दै नाडाले त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापन हेटौडा अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरे। यस अवसरमा नाडाकातर्फबाट संस्थागत सदस्य कुलबहादुर क्षेत्री, केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमअघि हेटौडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इन्टर प्रोभिन्स लेबल फ्रेन्डली ब्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न भएको थियो। प्रतियोगितामा चितवन अटोमोवाइल्स एसोसिएसनका पूर्व अध्यक्ष अमृत जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडी विजयी भए।

यस कार्यक्रमले नाडा र नाडाका संस्थागत एसोसिएसनहरूको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउने विश्वास नाडाले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?