काठमाडौं । ग्लोकल प्रा.ली.अन्तर्गतको संस्था ग्लोकल आफ्टर स्कुलले ‘स्किल फेस्ट २०२५’ आयोजना गरेको छ । यो युवाहरूलाई २१औँ शताब्दीका अत्यावश्यक सीप प्रदान गर्न समर्पित स्किल विकको छैटौँ संस्करण भएको ग्लोकलले जनाएको छ ।
जनवरी ६ देखि जनवरी १३ सम्म सञ्चालन हुने यो सप्ताहव्यापी कार्यक्रमले शैक्षिक क्षेत्र र उद्योग बीचको दुरी घटाउँदै विभिन्न कार्यशाला, प्रतियोगिता र नेटवर्किङका अवसरमार्फत रोजगार क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । कार्यशालादेखि जनवरी १२ मा उद्योग–शैक्षिक अन्तरक्रियाको बैठक सम्म, स्किल विक २०२५ मा विविध कार्यक्रमहरू समावेश गरिएको आयोजकको भनाई छ ।
‘स्किल विक २०२५’ विज्ञान र प्रविधि, कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा र उद्यमशीलता नामक चार प्रमुख स्तम्भमा केन्द्रित छ । जनवरी १० मा अत्यन्त प्रतीक्षित एवं उत्साहजनक स्किल फेस्ट कार्यक्रम लालितपुको पुल्चोकस्थित इम्बार्क कलेजमा आयोजना हुने भएको छ ।
‘स्किल फेस्ट–सीपको महोत्सव’ युवाहरूका लागि सिप परीक्षण र अन्वेषण गर्ने अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले सीप सिकाइको निःशुल्क प्लेटफर्म हो । यो कार्यक्रम युवाहरूका लागि खुला प्लेटफर्म हो, जहाँ उनीहरूले विभिन्न सीप, तिनको महत्त्व र बजारको सम्भावनाका बारेमा जान्न र सिक्न सक्छन् । स्किल फेस्ट मा आकर्षक कार्यशाला, सीप प्रदर्शनी, प्रतियोगिता, रोचक खेलहरू, केस स्टडी प्रस्तुतिहरू, स्वादिष्ट खानाका परिकार, सङ्गीत र सीपमा आधारित मनोरञ्जन कार्यक्रम तथा रोजगारी मेला हुनेछ ।
जनवरी १३ मा बहुप्रतिक्षित सीईओ अनप्लग्ड फोरम सञ्चालन हुनेछ । यो फोरमले उद्यमी, व्यापार नेतृत्वकर्ता र विद्यार्थीहरूलाई वर्तमान व्यापार चुनौतीहरू र भविष्यका सम्भावनाहरूका बारेमा छलफल गर्न एकै स्थानमा ल्याउनेछ ।
कार्यक्रमको समापन समारोहमा स्किल हिरो अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । जसले कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, विज्ञान र प्रविधि र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया