काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो भूमिको रक्षा गर्नको लागि सरकार कटिबद्ध रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
मन्त्री लेखकले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भारतीय नागरिकले भोग चलन गरिरहेको कुरामा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरिरहेकोबारे सरकार जानकार र गम्भीर रहेको बताए। उनले कञ्चनपुस्थित नेपाल–भारत सिमानाकामा सीमा स्तम्भ पनि राख्नुपर्ने भएको कारण कूटनीतिक छलफलबाट समस्याको समाधान गरिने बताए। उनले सीमा स्तम्भ राख्नको लागि सरकारका कूटनीतिक संयन्त्रहरूलाई जानकारी गराइसकेको बताए ।
मन्त्री लेखकले भने, ‘कञ्चनपुर जिल्लामा नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरेको सम्बन्धमा प्रश्न उठाउनुभएको छ । यसतर्फ सरकारको गम्भीर रूपले ध्यानाकर्षण भएको छ । म समितिलाई के आग्रह गर्न चाहन्छु भने हाम्रो भूमि, जमिन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने जमिन भारतीय नागरिकले भोग चलन गरिराखेको अवस्था छ । यसका बारेमा सरकार जानकार छ । हामीसँग जानकारी प्राप्त भएको छ । स्थानीय प्रशासन, सञ्चार माध्यम र निकुञ्ज प्रशासनबाट जानकारीहरू प्राप्त भएका छन् । यसमा सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको छ । यसका बारेमा हामीले केही छलफल पनि गरेका छौँ । भारतीय नागरिकले हाम्रो भूभागभित्र खेतीपाती गरेका छन् । सीमाको धेरै ठूलो विवाद होइन, छोड्ने भन्नुभएको छ । त्यहाँ एउटा पिलर राख्नुपर्ने अवस्था रहेछ । त्यो पिलर दुईवटै देशको सहमतिमा राख्ने कुरा भएको हुनाले हामीले त्यसका बारेमा कूटनीतिक माध्यमबाट छलफल पनि गरिरहेका छौँ । सहमतिमै राख्ने संयन्त्र पनि छन् । ती संयन्त्रहरूलाई जानकारी पनि गराइएको छ ।’
मन्त्री लेखकले सरकार आफ्नो भूमिको सिमानाको रक्षा गर्नका लागि कटिबद्ध र संवेदनशील रहेको प्रस्ट पारे ।
समिति बैठकमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोग चलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका थिए। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली भूमिमा भारतीय नागरिकले भोग चलन गरिरहेको विषयमा सरकारको ध्यान नपुगेको हो कि गम्भीर नभएको ? भन्दै प्रश्न गरे । उनले यस विषयलाई गम्भीरताका साथ लिएर सरकारले कदम चाल्नुपर्ने बताए।
नेकपा (एमाले)का सांसद रघुजी पन्तले जनपुरमा भारतीय नागरिकले उपभोग गरिरहेको, खेती गरिरहेको जमिन नेपालको स्वामित्वमा ल्याउने कुरामा सरकारले के गरिरहेको छ ? भन्दै गृहमन्त्रीको जवाफ माग गरे । उनले सीमा विवाद समेत नभएको हुनाले सरकारले सीमा स्तम्भ राखेर सीमाको समस्या समाधान गर्नुपर्ने बताए । उनले भारतीय नागरिकले नेपालको भूभाग भोग चलन गरिरहेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै आवश्यक कदम पश्चात् समितिलाई जानकारी गराउन माग गरे ।
सञ्चारमाध्यममा उठाएको भूमिसम्बन्धी मुद्दामा सरकारले तदारुकताका साथ समाधान गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया