भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको सूचना आएको छैन : ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरका प्रजिअ

लोकपथ
203
Shares

काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ ।  शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।  

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के-कति क्षति भयो भन्ने यकिन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण संकलन गर्ने काम सुरु भइसकेको जानकारी दिए । 

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा  मानवीय  क्षतिको सूचना नआएको जानकारी दिए । उनले भने, ‘स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ ।’ सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताए । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उनले जानकारी दिए ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिए ।

भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताए । उनले यसबाट जिल्लामा के-कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?