काठमाडौं । माध्यामिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघु चलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह हुन् । यो लघु चलचित्र विद्यार्थीहरूको लागि प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।
आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण हुँदा शाहले खुसी व्यक्त गरे । उनले लेखेको कृति ‘छापामारको छोरो’ ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो ।
लघु चलचित्र ‘एक जोर जुत्ता’ मा श्रमिका लुइँटेल, सुरज पराजुली, रामबाबु रेग्मी, गीताश्री थापा, समिरा थापा, सितास्मा खड्का, सहदेव बस्नेत र राजु कारंजितको अभिनय रहेको छ । ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघु चलचित्रलाई नारायण जिसीले छायाङ्कन गरेका हुन् । कला निर्देशन सुमित राई र निर्माण व्यवस्थापन कबिर शाक्यले गरेका छन् ।
छायाङ्कनअघि मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघु चलचित्रलाई अनिल कुमार महर्जनले रङ्ग संयोजन तथा सम्पादन गरेका हुन् ।
लघु चलचित्रको निर्माणसँगै कास्टिङ डिरेक्सन रङ्गकर्मी सुरेन्द्र क्षेत्रीले गरेका हुन् । बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत क्षेत्री काठमाडौंका विभिन्न स्कुलहरूमा पनि नाटक प्रशिक्षण गर्दै आइरहेका छन् ।
अहिले विद्यालयहरूमा पढाउने तरिका नै परिवर्तन भइरहेको अवस्थामा विद्यार्थीहरूका लागि कथा बुझ्न अझ सहज होस् भन्ने हेतुले लघु चलचित्र निर्माण गरिएको निर्माता क्षेत्री बताउँछन् । उनले निर्माण गरेको लघु चलचित्र ‘द स्कुल वाल’ले रसियामा उत्कृष्ट अवार्डसमेत प्राप्त गरेको थियो ।
लघु चलचित्र ‘एक जोर जुत्ता’ को पटकथा तथा निर्देशन मोहन अभिलाषीले गरेका छन् । उनको लेखन तथा निर्देशनमा निर्माण भएको लघु चलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘पाउलो’, ‘द स्कुल वाल’ ले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो । पछिल्लो समय उनले लघु चलचित्र ‘दृश्य’ निर्माण गरेसँगै ठुलो पर्दाको चलचित्र निर्माणको तयारीमा लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया