काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक चीन र भारतमा कोरोनाको जस्तै स्वरुपको ह्युमन मेटाप्युमो भाइरस (एचएमपीभी) को संक्रमण फैलिएको छ । यो भाइरस विशेष गरी १४ वर्ष मुनिका बालबालिकामा बढी देखिएको छ ।
एचएमपीभी भाइरसले फ्लू जस्तै लक्षण देखाउने र श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउने हुँदा यसलाई कोरोना जस्तै भनेर प्रचार गरिएको छ ।
सुरुमा उत्तरी चीनमा एचएमपीभी नामको यो भाइरसको संक्रमण देखिएको थियो । बेइजिङ, दक्षिणपश्चिमी शहर चोङकिङ, दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तमा यसको संक्रमण बढी देखिएको हो । यो भाइरस संक्रमितलाई रुघाखोकीसँगै कोभिड –१९ को जस्ता लक्षणहरु देखिएका छन् ।
यसैगरी, भारतको कर्नाटक राज्यमा पनि यसको संक्रमण देखिएको छ । तीन र आठ महिनाको बच्चामा उक्त भाइरस संक्रमण देखिए पछि भारतमा यस भाइरसलाई लिएर त्रास फैलिएसँगै नेपालमा पनि यो भाइरस भित्रिने हो कि भन्ने त्रास फैलिएको छ । भारतमा संक्रमण देखिएका ती बच्चाहरुमा नियमित परीक्षणको क्रममा उक्त भाइरसको संक्रमण पुष्टि भएको हो । यद्यपि यसको स्वतन्त्र पुष्टि नभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
छिमेकी राष्ट्रहरुमा देखिएसँगै नेपालमा पनि यो भाइरस देखिने सम्भावना बढेको छ । तर, नेपालमा भने अहिलेसम्म यो भाइरस देखिएको छैन । देखिए तापनि यो एचएमपीभी भाइरस नेपालका लागि कुनै नौलो नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।
डा. पुनका अनुसार नेपालमा धेरै अगाडि नै स्थानीय रूपमा यस्तो भाइरसको संक्रमण देखिइसकेको छ । २०११ देखि २०१४ सम्म गरेको अनुसन्धानमा यो भाइरस नवजात शिशुमा देखिएको थियो । डा. पुनले भने, ‘अहिले भारतमा देखिएको पनि स्थानीय भाइरस नै हुन सक्छ । तर, भाइसरको स्वरुप परिवर्तन भएको हो कि भन्ने प्रश्न भने उठ्न सक्छ । यदि भाइरसले स्वरुप परिवर्तन गरेर आएको हो भने यो खतराको घण्टी हो । अन्यथा यो नेपाल र भारतमा पहिलेदेखि नै भएको भाइरल फ्लू हो ।’
एचएमपीभी भाइरस के हो ?
साइन्स डाइरेक्टरीका अनुसार यो भाइरस २०० देखि ४०० वर्ष पहिले चराबाट उत्पत्ति भएको हो । यो भाइरसले बारम्बार आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ र अहिले यो भाइरसले चराहरूलाई संक्रमित गर्ने क्षमता राख्दैन ।
अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २००१ मा मानिसमा यो पत्ता लागेको थियो अर्थात् यही वर्षमा यो भाइरसले मानिसमा संक्रमण गर्न सक्छ भन्ने पत्ता लागेको थियो ।
यो भाइरसले सबै उमेरका मानिसलाई संक्रमित गर्न सक्छ । संक्रमितलाई ज्वरो आउने, खोकी लाग्ने, नाक बन्द हुने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखा पर्छ । तर, यदि संक्रमण बढ्दै गयो भने ब्रोंकाइटिस वा निमोनियासम्मा गराउन सक्छ । यो भाइरसको इन्क्युबेशन अवधि सामान्यतया तीनदेखि छ दिनको हुन्छ । तर, संक्रमणको अवधि कम वा बढी पनि हुन सक्छ । यो संक्रमण कति गम्भीर छ भन्नेमा निर्भर गर्दछ ।
एचएमपीभी भाइरस कसरी फैलिन्छ ?
एचएमपीभी भाइरस अर्थात् ह्युमन मेटाप्युमोभाइरस प्रायः खोक्दा र हाछ्युँ गर्दा सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यो भाइरस संक्रमित व्यक्तिलाई छोएर वा हात मिलाएर पनि सर्न सक्छ । केही विज्ञहरूका अनुसार एचएमपीभी भाइरस जहिले पनि हाम्रो वरिपरि हुन्छ तर जब चिसो बढ्छ अर्थात् तापक्रम घट्छ यो अझ सक्रिय हुन्छ र आफ्नो क्षमता वृद्धि गर्न सक्छ ।
एचएमपीभी भाइरसबाट बच्ने उपाय
यो भाइरसबाट सबैभन्दा बढी बालबालिका प्रभावित हुन सक्छन् । साथै, वृद्ध वृद्धा, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा यसको जोखिम बढी हुने गर्छ । त्यसैले, बालबालिका र वृद्धवृद्धाले विशेष सावधानी अपनाउनु पर्ने चिकित्सकहरुले बताएका छन् ।
हामीले आफ्नो व्यक्तिगत सरसफाइ र घरको सरसफाइमा निकै ध्यान पुर्याउन जरुरी हुन्छ । यो भाइरस खोकी र हाछ्युँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सर्ने भएकाले खोक्दा र हाछ्युँ गर्दा रुमालले मुख छोप्ने गर्नुपर्छ ।
एचएमपीभी भाइरसबाट बच्न अपनाउनुपर्ने अन्य उपायहरु
–बारम्बार मुखमा हात नलगाउने ।
–समयसमयमा साबुन र पानीले कम्तीमा २० सेकेन्डसम्म हात धुने ।
–घरबाहिर निस्किदा मास्कको प्रयोग गर्ने ।
–भीडभाड भएको ठाउँमा नजाने ।
अहिलेसम्म यो भाइरसको लागि न त कुनै विशेष एन्टिभाइरल औषधि बनेको छ न त कुनै खोप नै बनेको छ । यसका लागि सामान्यतया रुघाखोकी र ज्वरोको औषधि दिइने चिकित्सकहरू बताउँछन् । तर, यो भाइरसले पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी कुनै पनि रोग भएकाहरूलाई समस्या निम्त्याउन सक्ने भएकाले विशेष सावधानी भने अपनाउनु पर्ने डा. पुनले बताएका छन् । यदि भाइरस संक्रमणको लक्षण देखिएमा वा संका लागिेमा तत्काल चिकित्सकको सल्लाह लिनुपर्ने डा. पुनको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया