काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पको पराकम्प आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
छिमेकी देश चीनमा मंगलबार बिहान गएको भूकम्पको धक्का नेपालमा पनि महसुस भए पनि कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ ।
‘उक्त भूकम्पका पराकम्पहरु निरन्तर आइरहेको र थप पराकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन भएको छ । त्यस्तै सबै नागरिकहरुलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौँ,’ प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने ।
त्यस्तै उक्त भूकम्पमा परी हालसम्म कुनै मानवीय क्षति नभए पनि भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको र अन्य क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
‘उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन । भूकम्पको केन्द्र नजिकका जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएका छन् । क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
मंगलबार बिहान तिब्बतको सिगात्से नजिकै केन्द्रबिन्दु भएर ७ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी हालसम्म झण्डै १०० जनाको निधन भएको छ भने कम्तिमा १३० जना घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया