निरन्तर पराकम्प आउँदा ठूलो भूकम्पको जोखिम कति ?

लोकपथ
1.8k
Shares

काठमाडौं । मंगलबार बिहान चीनको तिब्बतस्थित सिगात्से केन्द्रबिन्दु भएर भूकम्प गएसँगै त्यहाँ पराकम्पहरु निरन्तर आइरहेका छन् ।

चीनमा गएको भूकम्पको धक्काले नेपालको उत्तरपूर्वी क्षेत्रसहित काठमाडौं लगायतका जिल्लाहरुमा समेत धक्का महसुस भएको थियो ।

यसैबीच निरन्तर पराकम्प आइरहेपछि त्यसलाई ठूलो भूकम्प आउने जोखिमको रुपमा समेत प्रचार भइरहेका छन् । तर पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनले बताए।

आज बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ७म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताए ।

‘पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।’

भूकम्पमा परी हालसम्म चीनमा ९५ जनाको मृत्यु भएको छ भने १०० बढी व्यक्तिहरु घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?