नास्टसँग वैज्ञानिक सहकार्य गर्न एफएनसीसीआई सकारात्मक, औद्योगिक विकासमा योगदान पुग्ने विश्वास

लोकपथ
35
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्नेबारे छलफल भएको छ । नास्टका उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाको नेतृत्वको टोलीले एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग वैज्ञानिक सहकार्यबारे छलफल गरेको हो ।

छलफलमा नाष्टले विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति, छात्रवृत्ति र अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेश गरेको छ ।

नास्टले महासंघसंग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ्ग, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक संघ संस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्ति जस्ता कार्यक्रमहरुको सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदान मार्फत साझेदारको भूमिका गर्न सक्ने विषय रहेका छन् ।

यस्तै उद्योग क्षेत्रबाट इच्छा गरिएको विषयमा उद्योगको प्रायोजनमा नास्टवाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतन लगायतका विषयमा नास्टले महासंघसँग सहकार्यका लागि प्रस्ताव गरेको छ ।

छलफलमा महासंघका अध्यक्ष ढकालले नास्टले महासंघसँग गर्न खोजेको सहकार्यका विषय स्वागतयोग्य भएको बताउँँदै प्रस्तावित विषयमा अध्ययन गरेर अघि बढ्न सकिने बताए ।

उनले भने, ‘निश्चय नै अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना जस्ता विषय देशको समग्र विकासका लागि आवश्यक विषय हुन् । यसमा सहकार्य गर्ने वियषमा महासंघ सकारात्मक छ । थप अध्ययन गरेर यस विषयमा ठोस काम गर्न सकिन्छ ।’

यस्तै नास्टका उपकुलपति प्रा.डा.सुब्बाले नास्टले प्रस्तावित गरेका विषयमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने बताए ।

उनले भने, ‘हामीसँग वैज्ञानिकहरुको टिम छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरु पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरु सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । र, यसको लागि महासंघ नै उपयुक्त संस्था हो भन्ने हामीलाई लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?