काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् । बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिक करणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन नसक्ने अवस्था रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताउनु भयो । शान्ति प्रक्रियाका कामहरू टुंग्याउने विषयलाई कतिपयले बिजनेसको रूपमा लिएको र कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रको रूपमा लिएकाले टुंगिन नसकेको बताए ।
अध्यक्ष दाहालले भने, ‘पीडितहरूले पटक पटक यो विषयलाई उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु, किनकि अन्तिममा चाहीँ त सडक नै हुने हो की जस्तो मलाई अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो । त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ । तर यहाँ विषय कानुनी भन्दा पनि राजनीतिक नै छ । १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैँमा राजनीतिक सहमतिका दस्ताबेज हुन् । ती सम्झौताहरू सबै संविधानको अंगको रूपमा मानिएको छ । ती संविधान पनि हुन् । तर कुरा अहिले टुंग्याउन कठिन भएको राजनीतिक नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । शान्ति सम्झौता के कारणले भयो, त्यहाँ ठूलो युद्ध भयो, हजारौँको बलिदान भयो । राज्य पक्षको पनि विद्रोही पक्षको पनि । एउटा जबरजस्ती परिवेश बन्यो र त्यसैले राजनीतिक नेतृत्वलाई शान्ति सम्झौतामा जानुपर्छ भन्नेतिर उत्प्रेरित गर्यो । एउटा प्रवृत्ति यो बिजनेस किन टुंग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ ।’
अध्यक्ष दाहालले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया