कठ्याङ्ग्रिँदो चिसोका कारण महोत्तरीका विद्यालय बन्द

लोकपथ
14
Shares

महोत्तरी ।  विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन् ।

जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले आजदेखि लागू हुनेगरी पुस २९ गतेसम्मका लागि विद्यालय बन्द गरेका छन् भने एकडारा गाउँपालिकाले आगामी माघ १ गतेसम्मका लागि विद्यालय बन्द गरेको विज्ञप्तिमार्फत जनाएका छन् । 

साना बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेपछि १० नगरपालिका र पाँच गाउँपालिका रहेका महोत्तरीका पाँच वटा पालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द भएको जनाएका छन् । 

तराई मधेसमा विगत दुई–तीन दिनदेखि एक्कासि शीतलहर र चिसो हावा चल्न थालेपछि कठ्याङ्ग्रिँदो र असहनीय जाडो भएर जनजीवन प्रभावित बनेको छ । असहनीय जाडोका कारण स–साना बालबालिका र वृद्ध वृद्धा बढी प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?