मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा खुम्चियो, विद्युत् क्षेत्रमा २१.४ प्रतिशतको वृद्धि

लोकपथ
21
Shares

काठमाडौं । मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जीडीपी) ३.४ प्रतिशतमा खुम्चिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा गत असोजको बाढी पहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको जनाएको छ ।

कार्यालयका अनुसार सरकारले चालू आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकोमा ३.४ प्रतिशत मात्र हासिल भएको हो । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छ भने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक भएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ । यो क्षेत्र २१.४ प्रतिशतले बढेको छ । यातायात तथा गोदाम क्षेत्रको ६.७ प्रतिशत योगदान रहेको छ ।

पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र ६.३, वित्तीय तथा विमा क्षेत्र ५.७, प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

चालू आवको पहिलो त्रैमासिकमा निर्माण जन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले सङ्कुचनमा रहेको अनुमान छ । निर्माण क्षेत्र ०.३ प्रतिशतले नकारात्मक रहेको छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने अनुमान छ । धानलगायतका वर्खे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे बाली र पशुपक्षी जन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको जनाइएको छ ।

समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग तथा यथेष्ट मनसुनी वर्षाका कारण कृषि जन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिए पनि बाढी र पहिरोका कारण कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको हो ।

अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्र पहिलो त्रैमासमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ । कृषि तथा व्यापार जन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापार जन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको कार्यालयले जनाएको छ ।

समीक्षा अवधिमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर २.३, शिक्षा क्षेत्र ०.४, स्वास्थ्य क्षेत्र ४.१ र घरजग्गा कारोबार क्षेत्र ३.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?