राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छ : मन्त्री चौधरी

लोकपथ
56
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव रहेको बताएका छन् ।

बुधबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले आवश्यक इन्जियिरहरु नहुँदा पनि गौरवका योजनाहरु अघि बढ्न नसकेको उल्लेख गरे । उनले पछिल्लो समय क्रिकेटमा बढेको लोकप्रियताले खेलेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भएको बताए । उनले खेलकुदलाई अब आर्थिक आर्जन र खेल पर्यटनसँग जोड्नुपर्ने बताए । सरकारले अहिले पूर्वाधार अघि बढाउने प्रयास गरिरहेको र श्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाइएको बताए । 

मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा जम्मा ३ अर्ब ५० करोड रुपैयाँ बजेट रहेको र यो पर्याप्त नभएको बताए । मन्त्रालयलाई प्राप्त बजेटबाट एक अर्ब ३२ करोड रुपैयाँ पुँजीगत खर्च रहेको बताए । त्यसमा ५० करोड रुपैयाँ एउटै मुलपानीमा र ६० करोड रुपैयाँ १०औँ खेलकुदका लागि छुट्याएको बताए । बाँकी २० करोड रुपैयाँ कीर्तिपुर रंगशालाका लागि छुट्याइएको बताए । त्यसमध्येको ठूलो योजना कीर्तिपुर क्रिकेट मैदान श्रोत सुनिश्चितता नहुँदा अर्थ मन्त्रालयमा एक हप्तादेखि अड्किएर बसेको जानकारी दिए । 

मन्त्री चौधरीले काठमाडौंभित्र थप एउटा फुटबल रंगशाला, क्रिकेट रंगशाला र भलिबल कभर्ड हल आवश्यक रहेको बताए । उनले फुटबल मैदानका लागि काठमाडौंभित्र जग्गा हेर्न थालेको दुई महिना भइसक्दा पनि पाउन नसकेको उल्लेख गरे । उनले खेलकुदका लागि नीतिहरु बाधक बन्दा मित्र राष्ट्रहरुले सहयोग गर्छु भनेको रकम पनि ल्याउन नसकिरहेको बताए ।

मन्त्री चौधरीले सबै रंगशालाहरु व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि २५ अर्ब रुपैयाँ आगामी वर्षको बजेटमा आवश्यक पर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?