रवि जोडिएको सूर्यदर्शन सहकारी ठगी प्रकरण : थुनछेक बहस सकियो, ४ बजेभित्रै आदेश आउने

लोकपथ
105
Shares

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा आज बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने बताए ।

बहुचर्चित सहकारी ठगीकाण्ड पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर भएको थियो ।

गत वर्ष १८ असोज, २०८० मा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर भएकामा यस वर्ष गत ५ र ७ पुसमा लामिछाने, पूर्व डीआईजी जोशीसमेतलाई प्रतिवादी बनाएर पुरक अभियोग लगिएको थियो ।

ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी छ । हाल अदालतमा उपस्थित गराइएका प्रतिवादीहरुमा लामिछाने, जोशी, लीला पछाईं, मीना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?