वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

लोकपथ
42
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ । 

सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्यत्रय छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल हुन् । 

बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्य योजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ । पर्यटन प्रवर्द्धनका निम्ति विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाकाको संरक्षण तथा जातीय र धार्मिक सङ्ग्रहालय स्थापना गर्नुपर्नेमा बैठकले जोड दिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।

पुरातात्विक सम्पदा उत्खननका साथै मन्त्रालयअन्तर्गत सार्वजनिक–निजी साझेदारीमा सञ्चालित आयोजनाको  प्रभावकारिता अध्ययन गरी त्यसको जानकारी समितिलाई उपलब्ध गराउन पनि उक्त मन्त्रालयलाई  बैठकले निर्देशन दिएको छ । 

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न सम्बद्ध निकायहरुबीच सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयन गर्ने, राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई शीघ्र अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्य योजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ ।

देशका विभिन्न जिल्लामा रहेका वायु सेवा निगमको स्वामित्वका जग्गा तथा भौतिक सम्पत्तिको उपयोग योजना तयार गरी चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर समितिलाई जानकारी दिन निर्देश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?