काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक परिपत्रमार्फत यो व्यवस्था लागू हुने जानकारी दिएको हो।
राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले यही २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ ।’
राष्ट्र बैंकको निर्देशन अनुसार नयाँ खाताका बैंकहरूले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेका विवरणको पहुँच सुनिश्चित गर्नुपर्नेछ।
नेपाल सरकारले सामाजिक सुरक्षालगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थाका लागि, सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंकहरूले खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ। यसरी खोलेको खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान र सम्पुष्टिको प्रक्रिया पनि अनिवार्य गरिने परिपत्रमा उल्लेख गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया