सचिन परियारलाई भएको भनिएको भेन्ट्रिकुलर सिस्ट कस्तो रोग हो ?

काठमाडौं । जन्मजात नै भेन्ट्रिकुलर सिस्ट बोकेर आएका बाल कलाकार सचिन परियारको गत हप्ता त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युसँगै भेन्ट्रिकुलर सिस्ट सबैले बुझ्न र जान्न चाहेको विषय बनेको छ । वास्तवमा भेन्ट्रिकुलर सिस्ट भनेको हो ? यसले कसरी काम गर्छ वा कस्तो असर निम्त्याउँछ ? कीर्तिपुर अस्पतालका बालरोग विशेषज्ञ डा. श्रीधर खनालका अनुसार यस्ता छन् भेन्ट्रिकुलर सिस्टका कारण, प्रकार, असर र रोकथामका उपायहरु ।

के हो भेन्ट्रिकुलर सिस्ट ?

भेन्ट्रिकुलर सिस्ट बच्चामा आमाको कोखदेखि नै देखिने एक प्रकारको संरचनात्मक त्रुटि हो । भेन्ट्रिकुलर सिस्ट दुर्लभ रोग हो । यो एक दुई लाख बच्चाहरूमध्ये एक जनामा देखिने गर्छ ।

जब हाम्रो मस्तिष्क विकास हुन्छ, त्यस समयमा हाम्रो मस्तिष्कभित्र पानी जम्मा हुने र निष्कासन हुने गर्छ, जसलाई हामी सेलुलर स्पाइनल क्यूब्स भन्छौँ । यो क्यूब्स त्यही पानी जम्मा हुने र निष्कासन हुने बाटो हो । त्यस बाटोमा नै पानीको फोका देखिन्छ भने त्यो नै भेन्ट्रिकुलर सिस्ट हो । 

गर्भावस्थामा नै थाहा हुन्छ शिशुमा सिस्ट रहेको कुरा  : महिला गर्भवती भएको अवस्थामा नै जन्मने शिशुमा सिस्ट रहेको वा नरहेको जानकारी पाउन सकिन्छ । आमाले आफ्नो गर्भावस्थामा नियमितरूपमा चिकित्सकसँग परीक्षण गराएमा त्यस्तो सिस्ट रहेको वा नरहेको जानकारी हुन्छ । नियमित चेक जाँचका क्रममा युएसजी गर्दा यस्तो विषय थाहा हुन्छ । तर नेपालको सन्दर्भमा भने गाउँ गाउँमा यस्तो सुविधा भएका अस्पताल वा क्लिनिक नहुँदा यो कतिपय अवस्थामा जाँच नै नहुने हुँदा जानकारीमा नआउन पनि सक्छ ।  

के छन् यसका जोखिमहरू ?

भेन्ट्रिकुलर सिस्ट त्यति धेरै गम्भीर रोग भने होइन । तर हामीले यसको पहिचान गर्न ढिलो गर्छौँ । त्यति बेलासम्म यसले ठूलो रूप लिइसकेको हुन्छ । जस्तो सचिनलाई डायबिटिज इन्सिपिडस देखिएको थियो । यसले शरीरमा अनावश्यक रूपमा पिसाब बनाउने र शरीरमा सोडियम पोटासियमको मात्रालाई तलमाथि गराउने गर्छ । यो अवस्था जोखिमपूर्ण अवस्था हुन जान्छ । 

आमाले आफ्नो गर्भावस्थामा नियमितरूपमा चिकित्सकसँग परीक्षण गराएमा त्यस्तो सिसष्ट रहेको वा नरहेको जानकारी हुन्छ । 

यसका लक्षणहरू 

भेन्ट्रिकुलर सिस्टले देखाउने लक्षण यसको आकारमा भर पर्ने गर्छ । यसले बच्चाको शारीरिक र मानसिक दुवै विकासमा बाधा पुर्‍याउने गर्छ ।

बच्चा जन्मिसकेपछि यदि सिस्टको आकार ठूलो छ भने यसले सेलुलर स्पाइनल क्यूब्सको सर्कुलेसनमा ब्लक गर्ने काम गर्छ । जसको कारण बच्चाको टाउको अनावश्यक रूपमा ठूलो हुने, बच्चाको उमेर अनुसार उचाइ र तौल नबढ्ने हुन्छ । त्यस्तै बच्चा समयमा नबोल्ने र समयमा टाउको नउठाउने जस्ता लक्षणहरू देखा पर्छन् । तर कोही कोही बच्चामा भने छारे रोग पनि देखिन सक्छ । यस्ता लक्षणहरू देखिएको बच्चाहरूमा एमआरआई र सिटी स्क्यान गरेर यसको पहिचान गर्न सकिन्छ ।  

अर्को भनेको मस्तिष्कसम्बन्धी धेरै जसो रोगहरू गर्भावस्थामा नै थाहा हुने गर्छ भने कतिपय ट्युमरहरु बच्चा जन्मेको एक दुई वर्षमा देखिने पनि हुन्छन् । यो रोगको प्रकृतिअनुसार फरक फरक हुने गर्छ । मस्तिष्कमा धेरै समस्या हुने भएकाले यी रोगका लक्षणहरू यति नै बेला देखिन्छ भन्ने हुँदैन ।

बच्चामा भन्ट्रिकुलर सिस्ट देखा पर्नुका कारण 

भेन्ट्रिकुलर सिस्ट जन्मजात नै बच्चामा देखिने रोग हो । यस्तो जन्मजात नै देखिने रोगहरू धेरैजसो वंशाणुगत नै हुन्छन् । अर्को भनेको सानोमा धेरै रेडिएसन एक्सपोज (विकिरणहरू) भएका बच्चाहरूमा पनि देखिने सक्छ । 

भेन्ट्रिकुलर सिस्टले शरीरका यी भागमा असर गर्छन्

भेन्ट्रिकुलर सिस्ट त्यति धेरै गम्भीर रोग भने होइन । तर हामीले यसको पहिचान गर्न ढिलो गर्छौँ । त्यति बेलासम्म यसले ठूलो रूप लिइसकेको हुन्छ । जस्तो सचिनलाई डायबिटिज इन्सिपिडस देखिएको थियो । 

हरेक रोगको शरीरको हरेक अङ्गसँग अन्तरसम्बन्ध रहेको हुन्छ । त्यसमा पनि मस्तिष्कले मानव शरीरको प्रत्येक अंगलाई नियन्त्रण गर्ने काम गर्छ । यसको विकास नै राम्रोसँग भएन भने यसले शरीरको हरेक भागमा असर पुर्‍याउने गर्छ । त्यसमा पनि विशेष गरी यसले पिसाबसम्बन्धी समस्याहरू निम्त्याउने गर्छ । मस्तिष्कको सिस्टमा मासु पलायो वा सिस्टहरु भएमा त्यसको प्रेसर इफेक्टले गर्दा मुटुको गतिदेखि रेन्ल सिस्टम(गुदे प्रणाली) मा नै असर पुर्‍याउने गर्छ । सिस्टसँग सम्बन्धित धेरै रोगहरू छन् । यस्ता रोगहरू मस्तिष्कको कुन भागमा छ त्यसमा फरक पर्ने गर्छ । 

यस्ता सिस्टबाट बच्ने उपाय

आफ्नो बच्चालाई यस रोगबाट बचाउने पहिलो तरिका भनेको गर्भावस्थामा नियमित रूपमा डाक्टरसँग चेक जाँच गराउने नै हो । पेटभित्र नै बच्चाको विकास कस्तो छ, के छ भनेर बुझ्ने गर्नुपर्छ । 

अर्को भनेको बच्चाको समयअनुसार वृद्धि विकास भएको छ छैन त्यसमा ध्यान दिएर समयमा नै चिकित्सकको सल्लाह लिने । समयमा नै भयो भने यसलाई रोकथाम गर्न सकिन्छ, बच्चाको अवस्था बिग्रँदैन । अस्पताल लगिएमा कतिपय सिस्टहरुलाई अप्रेसन गरेर पनि निकाल्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?