सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका आरोपितलाई कारबाही गर्नुपर्ने राय

लोकपथ
1k
Shares

काठमाडौं । रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन आज शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रन्जीतसिंह राठौरले बताए । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेले कात्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए । सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँ भन्दा बढी बचत रकम हिनामिना गरेको दाबी गर्दै गत वैशाख ३ गते लामिछानेसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेको भोलिपल्टै रुपन्देहीमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो । लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार कास्की जिल्ला अदालतबाट छुटिसकेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा त्यहाँ उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

काठमाडौंको स्वणलक्ष्मी सहकारीमा समेत उनी अभियुक्त रहेको र मुद्दा यसअघि नै अदालतमा लगिएको छ । सोही कारण उनी आइतबार (पर्सि) काठमाडौं जिल्ला अदालतमा हाजिर हुनेछन् । काठमाडौंबाट समेत धरौटी वा साधारण तारेखमा छाड्ने आदेश दिइए उनी रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्नेछ । चितवन र पर्सा प्रहरीले पनि उनीमाथिको अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?