काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा अलीपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि नेपाल पे क्युआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो सेवा मार्फत अलीपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्युआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन । अलीपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ ।
यस सम्झौतासँगै नेपालमा उपलब्ध नेपाल पे क्युआर र यसको इन्टरअपरेबल क्युआरलाई अलीपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ ।
नेपाल पे क्युआरमार्फत व्यवसायजीहरूले १४ अन्तर्राष्ट्रिय ई–वालेट र मोबाइल बैंकिङ एप्सबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया