काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु चाँडै सञ्चालनमा आउने बताएका छन् ।
शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण रुपमा प्रयास गरिरहेको बताए। उनले पोखरामा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउनासाथ विमानस्थल सञ्चालनमा आउने देखिएकाले लगानीको वातावरण बनाउने प्रयासमा सरकार रहेको बताए । उनले सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि मन्त्रीपरिषद्बाट उडान कम्पनीहरुलाई सहुलियतको घोषणा गरेको बताए ।
उनले उक्त सहुलियत कार्यान्वयनमा रहेको भन्दै केही ढिलाइ भएको विषयमा सरकार सचेत रहेको बताए । उनले सरकारले बनाएको कार्ययोजनाअनुसार कुन मन्त्रालयले कति काम गर्यो ? भनेर प्रधानमन्त्रीको तहमा मूल्याङ्कन गर्ने तयारीमा रहेको बताए । उनले भारतका विभिन्न प्रान्तहरुमा पोखराबाट उडानको लागि प्रयासहरु जारी रहेको पनि जानकारी दिए ।
उनले चिनियाँ पक्षसँग पनि बारम्बार छलफल भइरहेको भन्दै चाँडै हिमालय एयरलाइन्सलाई चीनको ल्हासामा उडानको लागि अनुमति दिने तयारी रहेको बताए । उनले सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न आग्रह गरिएको बताए ।
उनले अन्य ठाउँको उडान कटौती गरेर नेपाल एयरलाइन्सले कुनै एउटा देशको उडान गर्न आग्रह गरेको र बुद्ध एयरलाइन्सले पनि आफैँ गर्ने प्रयास गरिरहेको बताए । उनले विमानस्थल चलेन भनेर धेरै निराश हुने अवस्था नभएको बताए । उनले सरकारले दुवै विमानस्थल चलाएर छोड्ने प्रतिवद्धता जनाए ।
उनले गण्डकीको पर्यटन माथि उठ्दा मात्रै सिंगो नेपाललाई पर्यटनबाट लाभ लिने वातावरण बनाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया