‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै उनले समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएकाले यस विरुद्ध सामूहिक अभियान सञ्चालन गरिनुपर्ने बताए । 

मन्त्री लेखकले पछिल्लो समय लागु औषधबाट विशेष गरी किशोरकिशोरी प्रभावित भइरहेकाले विद्यायस्तरबाटै अभियान सञ्चालनमा जोड दिनुपर्ने बताए । स्थानीय सरकार र निजी संघसंस्थाको भूमिका यसमा थप प्रभावकारी हुने उनको भनाइ थियो । 

‘समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ । यस विरुद्ध अभियान सञ्चालन गर्नु आवश्यक छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै अभियान सुरुआत गरोस्’, गृहमन्त्री लेखकले भने ।  

उनले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरिएकाले यसको परिपालना र शैक्षिक गुणस्तर सुधारका लागि सबैले ध्यान दिनुपर्ने बताए । मन्त्री लेखकले विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसद्मा छलफलकै क्रममा रहेको अब चाडै सो विधेयक पारित गरी शिक्षालाई सुलभ, सरल र सबैको पहुँच विस्तारमा सरकार केन्द्रीत हुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?