रवि धरौटीमा रिहा हुने आदेश : रास्वपा दंग, कांग्रेस–एमालेमा तरंग

लोकपथ
721
Shares

काठमाडौं । पक्राउ परेको ८४ दिन हिरासत बसाइपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने बिहीबार धरौटीमा रिहा भए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यससँगै लामिछाने बैंक ग्यारेन्टी बुझाएर बिहीबार साँझ नै रिहा भए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेकाहरुमध्ये ७ जनालाई धरौटीमा रिहा गर्न कास्की अदालतले आदेश दिएसँगै लामिछानेसहित अन्य सबै धरौटी बुझाएर रिहा भए ।

‘… अन्य प्रतिवादीहरुसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्जेकसन समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरुबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरुबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नै हुने हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी रु. ६५,००,००० (पैसठ्ठी लाख रुपैयाँ) नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिइ तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनु,’ आदेशमा भनिएको छ ।

रविको आदेशसँगै उनको दल रास्वपाका नेता कार्यकर्ताहरुले खुसी मनाइरहेका छन् । बिहीबार सबै थुनछेक बहस सकिएर आदेश आउने भएसँगै रास्वपाका शीर्ष नेताहरु दिउँसै कास्की पुगेका थिए । आदेशसँगै अदालत परिसरमा रास्वपा समर्थकहरुले ‘रवि दाई हाई हाई’ भन्दै नारा मात्रै लगाएनन् । अदालतले न्याय दिएको भन्दै न्यायाधीश राईप्रति सहानुभूती भाव समेत देखाए । तर आदेशमा यसलाई नै अन्तिम फैसला मान्न नसकिने थप प्रमाणहरुबारे कसुरदार ठहरिए थप कारबाही हुन सक्ने लेखिएको छ । तर रास्वपा नेता कार्यकर्ताहरुमा अदालतले अन्तिम फैसला जसरी नै न्याय मिलेको भन्दै सन्तुष्टि मानिरहेका छन् । लामिछानेको अन्य ४ ठाउँमा समेत सहकारी ठगीको मुद्दा रहेका कारण अन्य ठाउँको आदेश के आउँछ त्यो बाँकी नै छ । तर एकै प्रकृतिको केस भएका कारण अदालतको नजीरले ‘धरौटीमा रिहा’ हुने अड्कलबाजी समेत रास्वपाका नेताहरुले गरेका छन् ।

रविको रिहाइपछि सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठले गम्भीर प्रकृतिको मुद्दामा समेत लामिछाने धरौटीमा रिहा भएपछि अन्य अदालतबाट समेत सोही प्रकृतिको आदेश आउने बताएकी छन् ।
‘सबैभन्दा जटिल मुद्दामा धरौटीमा रिहा हो भनेको अरु मुद्दामा धरौटीमा रिहा नै हो !!!,’ बधाइ दिँदै उनले भनेकी छन् ।

यता रास्वपाका उपसभापति समेत रहेका सांसद डा. स्वर्णीम वाग्लेले दुई दलका शीर्ष नेताहरु (कांग्रेस–एमाले) ले लामिछानेको राजनीतिक आन्दोलनलाई कमजोर बनाउन राम्रैसँग लागेको आरोप लगाए । साथै लामिछाने न्यायीक विजयको एक कदम नजिक रहेको टिप्प्णी गरे ।

‘रवि लामिछानेमाथि सहकारी ठगीको बदनाम आरोपलाई बढावा दिने नियतमा दुई प्रमुख सत्तारुढ दलको द्वेष र प्रतिशोध प्रष्ट देखिएको छ । तर उनीहरूले उनको लोकप्रियता घटाउन र रास्वपाको नयाँ राजनीतिक आन्दोलनलाई कमजोर पार्न चाहन्थे । हामी आशावादी छौं कि उहाँ न्यायको विजय भएको हेर्नको लागि एक कदम नजिक हुनुहुन्छ,’ वाग्लेले भनेका छन् ।
रवि धरौटीमा रिहा हुने भएसँगै रास्वपाकी सांसद निशा डाँगीले सामाजिक सञ्जालमा लेख्दै न्यायालय प्रतिको विश्वास व्यक्त गरिन् । उनले न्यायालयप्रति हिजो, आज विश्वास रहेको र भोलि पनि विश्वास गर्ने आधारहरु रहिरहोस् भन्दै लेखेकी छन् ।

‘न्यायालय प्रति हाम्रो विश्वास हिजोको दिनमा पनि थियो, आज पनि छ र यसमा विश्वास गर्ने आधारहरु सधै रहिरहोस्,’ डाँगीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

रास्वपाकी अर्की सांसद सोविता गौतमले रविको तस्बिर सेयर गर्दै अटल, अडिग र अविचलित भन्दै प्रशंसा गरेकी छन् ।

‘अटल, अडिग, अविचलित,’ उनले तीन शब्दमा भनेकी छन् ।

रास्वपाका नेता कार्यकर्ताहरुले रविप्रति सहानुभूतीसहित जितेझैँ खुसी मनाइरहँदा सत्तारुढ दलका नेताहरुमा भने तरंग उत्पन्न भएको छ । कतिपय सत्तारुढ कांग्रेस एमालेका कतिपय नेताहरुले सामाजिक सञ्जालमा लेख्दै कटाक्ष गरेका छन् ।

रवि धरौटीमा छुट्ने आदेशसँगै नेपाली कांग्रेसका नेता एवं प्रचार विभागका प्रमुख समेत रहेका मीन विश्वकर्माले अदालतको आदेश अन्तिम फैसला नभएको भन्दै अहिले नै खुसी नहुन रास्वपा र रवि समर्थकलाई आग्रह गरेका छन् ।

रविसँग ६५ लाख धरौटी माग निर्दोष भएर गरिएको होइन भन्दै उनले मुद्दा लाग्नसाथ कोही दोषी ठहर हुदैनन् त्यसै गरी सादा तारिख वा धरौटीमा छुटेका सवै निर्दोष हुदैनन् भन्ने बुझ्नु जरुरी रहेको बताएका छन् ।

कांग्रेस नेता मीन विश्वकर्मा

‘आज कास्की जिल्ला अदालतबाट गरिएको निर्णय फैसला होईन ! मुद्दाको किनारा नलागे सम्म प्रतिवादीलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने विषयमा भएको आदेश मात्र हो ! यो रविजीलाई मात्र होईन सबैलाई धरौटी खोलिदिएको छ ! केही रकम धेर थोर मात्रै हो ! जसरी मुद्दा लाग्नसाथ कोही दोषी ठहर हुदैनन् त्यसै गरी सादा तारिख वा धरौटीमा छुटेका सवै निर्दोष हुदैनन !
आज भएको जिल्ला अदालतको आदेशले दोषि निर्दोषी कायम गरेको होइन वरू प्रतिवादीलाई आजै कसूरदार होईनन भन्न नसकिने भएकोले पछि मुद्दा हेर्दै जादा प्राप्त प्रमाण वमोजिम ठहर्ने गरि हाल उल्लेखित प्रमाण र अभियोग पत्रमा दावि गरिएको कसूरका आधारमा फरक फरक रकम धरौटी खोलिदिएको बुझिन्छ ! सबै अभियुक्तलाई धरौटी माग्नु र रकम फरक हुनुले वुझ्नुपर्छ की ८८ लाख, ६५ लाख धरौटी निर्दोष भएकाले मागिएको होईन ! कानूनी प्रकृया वुझ्न आवश्यक छ ! असल नागरिकले अदालतको सम्मान गर्दै निर्णय पालना गर्ने हो न कि जिन्दावाद वा मुर्दावाद !!,’ उनले भनेका छन् ।

रवि धरौटीमा रिहा हुने अदालतको आदेशसँगै सामाजिक सञ्जालमा सबै भन्दा बढी नेकपा एमालेका सांसद सूर्य थापा खनिएका छन् । सहकारी ठगी प्रकरणबारे छानबिनका लागि बनेको संसदीय विशेष छानबिन समितिका संयोजक समेत उनै थापा हुन् । उनीसहितको टोलीले तयार पारेको अध्ययन प्रतिवेदनका आधारमा रवि लगायतका व्यक्तिमाथि प्रहरीले सहकारी ठगीमा अनुसन्धान अघि बढाएको थियो ।

थापाले सामाजिक सञ्जालमा पटकपटक लेख्दै कसुरदार रहेनछन् भन्ने अदालतको आदेशका आधारलाई उल्लेख गर्दै ७५ लाख रविले शेयरबापत लिएको विषयमा कटाक्ष गरेका छन् । साथै अदालतको उक्त आदेश माथिल्लो तहबाट समेत समेत परीक्षण हुने बताएका छन् ।

एमाले सांसद सूर्य थापा

कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन । सहकारीको रकमबाटै शुरूमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवी लामिछानेको शेयरवापत भुक्तानी गरेको खुलासा,’ उनले भनेका छन्, ‘अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ । त्यसनिम्ति ७३नं. को व्यवस्था मौजुद नै छ,’ उनले भनेका छन् ।

त्यतिमात्रमा थापा रोकिएका छैनन् । उनले रवि जिम्मेवार रहँदा रहँदै यसअघिको प्रतिवेदनमा क्लिन चिट पाएको भन्ने विषयमा आफ्नो आलोचना भएको विषयमा समेत टिप्पणी गरेका छन् । त्यस्तै रविमाथि अभियोजन गर्दा राजनीतिक प्रतिशोध साँधेको, आदेशपछि न्याय मरेको छैन लगायत रास्वपा समर्थकहरुको भनाइप्रति कटाक्ष गरेका छन् । साथै काठमाडौं, बुटलव, चितवन र वीरगञ्जमा समेत सहकारी ठगी मुद्दा रहेका कारण अहिले नै अन्तिम फैसला आएको जसरी खुसी हुनुपर्ने कुनै आधार नरहेको भन्दै कटाक्ष गरेका छन् ।

थापाले भनेका छन्,
रवी जिम्मेवाररकारबाहीको सिफारिस–क्लिन चिट ।
रवी निर्दोष छन् हाहा हुहु
अनुसन्धानको लागि पक्राउ– सरकार म-योरजुठो बार
अनुसन्धान-अभियोजन–हिरासत– राजनीतिक प्रतिशोध
अदालती सुनुवाई– न्याय मरेको छैन
६५ लाख धरौटीमा रिहा– सफाईरचचहुई
रवी कसुरदार छैनन् भन्ने आधार देखिएन– हिहि
सहकारीको करोडौं बचत दुरूपयोग– छिछि
सहकारीको बाहेक एक रूपैया कम्पनीमा खाएको छैन,
काठमाडौं,बुटवल,चितवन र बीरगंज– सुनुवाई छ कि’

यता पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रविबारे अदालतको आदेश विवेकपूर्ण रहेको बताएका छन् । त्यसो त यसअघि कास्की प्रहरीको हिरासत कक्षमै डा. भट्टराई भेट्न पुगेका थिए । त्यसबेला डा. भट्टराईले वैकल्पिक राजनीतिका नाममा उदाएका लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको आरोप लगाएका थिए । साथै रविमाथि आफ्नो सधैँ साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

बिहीबारको रविबारे अदालतको आदेशबारे डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतको विवेकपूर्ण निर्णय !’

यता संसद्मा सहकारी ठगी र रविमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेको थियो । कांग्रेसको अडान बमोजिम नै संसदीय छानबिन समिति बनाएपछि रास्वपाका नेता कार्यकर्ताहरु कांग्रेसप्रति कटाक्ष गरिरहेका छन् । संसदीय छानबिन समिति माग गर्नेमध्ये कांग्रेस महामन्त्री गगन थापा अगाडी देखिएका कारण रास्वपा नेता कार्यकर्ताहरु थापाप्रति कटाक्ष गरिरहेका छन् । पार्टी कार्यक्रमका लागि केही दिन अघि पोखरा पुगेका गगनमाथि रास्वपाका समर्थकहरुले नाराबाजी समेत गरेका थिए ।

बिहीबार धरौटीबापत बैंक ग्यारेन्टी बुझाएसँगै लामिछाने आज काठमाडौं आउँदैछन् । आइतबार लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने तयारीका साथ काठमाडौं आएका हुन् । कास्की अदालतको आदेशपछि अब लामिछानेले आफ्ना अन्य मुद्दाहरुमा हिरासत बाहिर बसेर सघाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?